सप्तरीमा सिलबन्दी गरिएका टोलमा -यापिड टेस्ट, एक ज्येष्ठ नागरिकमा पाेजेटिभ पाइयाे

  बैशाख ०७, २०७७

राजविराज, वैशाख ७ : कोराना भाइरस संक्रमण फैलिन नदिन सप्तरीमा सील गरिएको छ टोलमध्ये एक टोलमा -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सकिएको छ भने अन्य टोलहरुमा परीक्षण तीब्र रुपमा सुरु गरिएको छ ।

जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा आरडीटी सम्पन्न भएको छ । त्यहाँ ७१ वर्षीय एक बृद्धमा आरडीटी विधिबाट जाँच गर्दा पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

उनीसहित पत्नी र छोरा समेतलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आइसोलेसनमा भर्ना गरेर आइतबार स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षणलकागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो 

सप्तकोसी नगरपालिका वडा नम्वर १ का गरी मस्जिद आसपास बसोवास रहेका ७५ जनाको आरडीटी गर्दा ७४ जनाको नेगेटिभ रिपार्ट आएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले बताउनुभयो । सिलबन्दी गरिएको सो नगरपालिकाको वार्ड नम्बर २ सिद्धिपुर र वार्ड नम्बर ४ बलरादह टोलको मस्जिद बरिपरि बसोबास गर्ने स्थानीयवासीको आज आइतबार आरडीटी सुरु भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सिलबन्दी गरिएको खडक नगरपालिका ११ जाँजर बनौली, कञ्चनरुप नगरपालिका २ बरमझिया पनि आरडीटी सुरु भएको बताइएको छ । यसबाहेक उदयपुर जिल्लासँग जोडिएका सीमा र सिलबन्दी गरिएको टोल नजिक जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका, सुरुङ्गा नगरपालिको कडबोना, महादेवा गाउँपालिका, र तिरहुत गाउँपालिकामा सो परीक्षण सुरु गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिले शनिबार बिहानदेखि सप्तकोसी नगरपालिकाको वार्ड नम्बर १ फत्तेपुर बजार, वार्ड नं. २ सिद्धिपुर, वार्ड नं. ४ बलारदह र कञ्चनरुप नगरपालिका २ बरमझिया टोललाई सिलबन्दी गरेको छ । शुक्रबार उदयपुर जिल्लाको भुल्के स्थित मस्जिदमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सो टोललाई सिलबन्दी गरेको हो ।

यता गत फागुन ३–५ गते मुस्लिम समुदायको इज्तिेमा (इस्लामिक धार्मिक सम्मेलन) आयोजना गरिएको बोदेबरसाइन नगरपालिका ५ र खडक नगरपालिका ११ बनौली जाँजर वरिपरीवासीको आरडीटी र स्वाब संकलन कार्यको लागि नेपाली सेना आवश्यक तयारीमा जुटेको बताइएको छ । तयारी पूरा भएपछि त्यहाँ सोमबारबाट स्वाब संकलन सुरु हुने बताइएको छ । बनौली जाँजर पनि गत ३ गतेदेखि नै सिलबन्दी गरिएको छ ।

जिल्लाको विभिन्न स्थानका गरी महिला ४९ र पुरुष ३०६ गरी ३५५ जनाको आरडीटी गरिएको छ । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल र स्वास्थ्य कायालयले सो परिक्षण गरिएको हो

क्वारेन्टाइनमा १५३ भर्ना
जिल्लाको विभिन्न स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा कोरोनाको आंशकामा तीन महिला र १५० पुरुष गरी १५३ जना भर्ना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हिजोसम्म भर्ना रहेको दुई महिला र १४७ पुरुष गरी १४९ मध्ये आइतबार एक महिला र पाँच पुरुष गरी छ जना घर फिर्ता भएको छ ।

त्यस्तै आइतबार दुई महिला र आठ पुरुष गरी १० जना नयाँ भर्ना भएको बताइएको छ । जिल्लाको १८ स्थानीय सरकारले ६२० शैय्याको क्वारेन्टाइन सञ्चालन गरेको छ । गत चैत १२ गतेदेखि सञ्चालन भएको क्वारेन्टाइनमा हालसम्म कूल १९ महिला र ५३० पुरुष गरी ५४९ भर्ना भएको छ भने तीमध्ये १६ महिला र ३८० पुरुष गरी ३९६ जना घर फिर्ता (डिस्चार्ज) भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया