कोरोना संक्रमित देखिएको भुल्के गाउँमा तीव्ररुपमा कोरोना परीक्षण

  बैशाख ०६, २०७७

गाईघाट, वैशाख ६ : उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्के गाउँको मस्जिदमा बसेका १२ भारतीय मुस्लिम नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि भुल्के गाउँ शिल गरेर व्यापकरुपमा गाउँलेमा कोरोना परीक्षण कार्य शुरु गरिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज नै प्रदेश नं १ जनस्वास्थ्य कार्यालय विराटनगरबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा जयवेन्द्र यादवको नेतृत्वमा छ जनाको टोली उदयपुर आइपुगेपछि स्वास्थ्य कार्यालयको टिमसहित अहिले भुल्के गाउँमा व्यापकरुपमा कोरोना परीक्षण शुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका विशेषज्ञसहित विभिन्न सामग्री तथा उपकरणसहितका टोली उदयपुुर आएपछि अहिले भुल्के गाउँका मस्जिद आसपास क्षेत्रका ६० जनाभन्दा बढी स्थानीयको कोरोना परीक्षणका लागि स्वाब लिने कार्य भइसकेको र आजै अन्य स्थानीयको थप गरेर १०० जनासम्मको स्वाब लिने पनि स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो ।

आजै प्रदेश नं १ जनस्वास्थ्य कार्यालयको टोली विराटनगर फर्केर भुल्केका १०० जना स्थानीयको स्वाब ल्याबमा परीक्षण गरेर भोलिसम्ममा रिपोर्ट तयार गर्नेसमेत प्रदेश जनस्वास्थ्य कार्यालय प्रदेश १ प्रयोगशालाका निर्देशक डा जयवेन्द्र यादवले बताउनुभयो ।

आज परीक्षण गरिएकामा कोरोना पोजेटिभ भेटिए भुल्केका अन्य गाउँलेमा पनि परीक्षण गरिने र नेगेटिभ रिपोर्ट आए अन्य गाउँलेको स्वाब परीक्षण गर्न नपर्ने अवस्था आउनसक्ने कुरा स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले बताउनुभयो ।

भुल्के मस्जिदमा १२ जना भारतीय मुस्लिम नागरिक गत चैत ७ गते नै आएर धार्मिक गतिविधि गर्दै आएका थिए भने लकडाउन भएका कारण उनीहरु भारत फर्कन नसकेपछि मस्जिदमा लुकेर बस्दै आएको स्थानीयले बताएका छन् । स्थानीयले मस्जिदमा भारतीय नागरिक लुकेर बसेको प्रहरीमा सूचना दिएपछि प्रहरीले आठ दिनअघि मस्जिदमा छापा मारेर उनीहरुको स्वाब परीक्षण गर्न विराटनगर पठाएपछि शुक्रबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।

भुल्के मस्जिदमा रहेका भारतीय नागरिकमा कोरोनाको सङ्क्रमण देखिएपछि अहिले प्रशासनले गाउँ नै शिल गरेर गाउँलेलाई बाहिर जान प्रतिबन्ध र बाहिरकालाई गाउँ प्रवेश गर्न प्रतिबन्ध लगाएर गाउँ शिल गरेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया