सप्तरीका तीन टोल सिलबन्दी

  बैशाख ०६, २०७७

राजविराज, बैशाख ६ : कोरोना संक्रमणको त्रासले सप्तरीको सप्तकोसी नगरपालिकाका तीन वटा टोललाई शनिबार सिलबन्दी गरेको छ ।

नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितिको निर्णयले शनिबार बिहानदेखि नगरपालिकाको वार्ड नम्बर १ फत्तेपुर बजार, वार्ड नं. २ सिद्धिपुर र वार्ड नं. ४ बलारदह टोललाई सिलबन्दी गरिएको नगरप्रमुल उत्तमकुमार शर्माले जानकारी दिनुभयो । शुक्रबार उद्यपुर जिल्लाको भुल्के स्थित मस्जिदमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सप्तकोसीका तीन टोललाई सिलबन्दी गरेको बताइएको छ ।

संक्रमितहरु सप्तकोसीको ती वार्डहरुमा रहेको मस्जिदमा बसेर उदयपुर तिर लागेको थाहा पाएर सिलबन्दी गरिएको नगरप्रमुख शर्माले भन्नुभयो, सिलबन्दी गरिएको गाउँमा मुस्लिम समुदायको एक सय घर परिवारको बसोबास रहेको छ । ती घर परिवारका गरी ६५० मुस्लिम जनसंख्या रहेको छ ।

सिल गरिएको टोलबासीको ¥यापिड डाइग्नोस्टिक परीक्षण(आरडीटी) गर्ने तयारीमा रहेको उहाँले यसको लागि राजविराज स्थित स्वास्थ्य कार्यालयलाई आग्रह गरिसकेको जानकारी दिनुभयो । सदरमुकाम राजविराजबाट स्वास्थ्य टोली आएपछि शनिबारै ५०÷६० जनाको आरडीटी गरिने उहाँले बताउनुभयो ।

उद्यपुरमा कोरोना संक्रमित भेटिएका भारतीय तथा नेपाली नागरिकहरु गत फागुन ३–५ गते सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित आयोजित इज्तिेमा (इस्लामिक धार्मिक सम्मेलन) सहभागी भएको थियो । त्यसपछि जिल्लाको विभिन्न मस्जिदमा जमात बस्दै उदयपुर पुगेको बताइएको छ ।

यता जिल्ला सुरक्षा समितिले सो स्थानको सिलबन्दी गर्ने सम्बन्धमा कुनै निर्णय नगरेको जानकारी दिदै जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले भन्नुभयो, सुरक्षा समितिको आकस्मिक बैठक डाकिएको छ, बैठकले गर्ने प्रस्ताव तथा निर्णय अहिले थाहा नभएको छ ।

उदयपुरमा पाइएको कोरोना संक्रमितका मानिसहरु सप्तकोसीका तीन वटा मस्जिदमा बसेको प्रारम्भिक बयानमा खुलेको जानकारी दिदै उहाँले त्यसैलै स्थानीय सरकारले स्थानीय स्तरमै सिलबन्दी गरेको हुन सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया