सुदूरपश्चिममा ५०-५० शैयाका दुई काेराना अस्पताल बनाउन सुरू

  बैशाख ०६, २०७७

धनगढी, वैशाख ६ : कोरोना संक्रमितको उपचारकालागि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा दुई छुट्टै अस्पताल निर्माण हुँदैछन् । ५०-५० शैयाका निर्माण हुने ती अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचारकालागि छुट्टै स्थानमा बनाउन लागेको हो ।

केही दिनअघि प्रदेश सरकारले तत्काल कैलाली र कञ्चनपुरमा कोरोना उपचारकालागि छुट्टै अस्पताल निर्माण गर्ने निर्णय बमोजिम धनगढीमा निर्माण सुरु भईरहेको छभने कञ्चनपुरमा प्रक्रियामा छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली अस्पताललाई ५०-५० शैयाको अस्पताल निर्माणकालागि एक-एक करोडको अख्तियारी दिइसकेको छ ।

धनगढीस्थित जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन भवन निर्माण सुरु भईसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो–‘९४ लाखमा एक महिनाभित्र काम सक्ने गरी किनारा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिएका छांै । काम सुरु भएको छ । दिन–रात काम हुदैछ ।’

यसअघि प्रदेश सरकारले सेती अस्पताललाई नै कोरोना विशेष अस्पताल तोकेर अस्पतालका प्रसुति स्वास्थ्य सेवा अन्यत्र सार्न खोज्दा बिरोधमा जनगुनासो बढेका थिए । अहिले त्यो निर्णय सच्याएर प्रसुति सेवा सेती प्रादेशीक अस्पतालवाट नै सञ्चालन गरिएको छ ।

उता महाकाली अस्पतालमा पनि भवन निर्माणको ठेक्का लागेको तर सम्झौताको प्रकृयामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीका बताउनुभयो । उहाँले महाकाली अस्पतालकै परिसरमा भवन निर्माण गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया