म्याग्दी, कात्तिक १८ : म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तेस्रो घोडादौड प्रतियोगिता आयोजना गरिएको छ । विदेशी तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण गाउँपालिका –६ स्थित घोडेपानीमा बिहीवार घोडादौड प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा १६ जना घोडा धावक सहभागी भएका छन् । प्रतियोगितामा कास्कीको अन्नपुर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका –५ घोप्टेखर्कदेखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दूरी २५ मिनेट ३८ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजा पुनले जानकारी दिनुभयो ।
२५ मिनेट ५३ सेकेण्डमा दूरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेण्डमा निर्धारित दूरी पार गरेर तेस्रो हुनुभएको हो । घोडेपानी घोडा व्यवसायी समितिले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा बिजयी भएका प्रथम, द्वितिय र तितृयलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रूपियाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष तथा घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनले प्रतियोगिता उदघाटन गर्नुभएको थियो ।
घोडादौड प्रतियोगिताले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा मिल्ने बताउनुभयो । सौखिन पर्यटक घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिड्न नसक्ने पर्यटकहरु घोडा चढेर गन्तब्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको उहाँको भनाइ छ ।
प्रतियोगितामा विजयीलाई घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मिना पुन, युवा क्लवका अध्यक्ष मिम बुद्धुजा, कोषाध्यक्ष सपना गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो । घोडेपानी युवा क्लव, आमा समुह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
पर्यटन प्रवर्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको घोडेपानी घोडा व्यावसायी समितिका अध्यक्ष याम पुनले बताउनुभयो । घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकको उपस्थिति थियो ।
पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकहरु आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ ।
समुन्द्री सतहदेखि करिब दुई हजार आठसय मिटर उचाइमा रहेको घोडेपानीमा बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किंबदन्ती छ ।