ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

  बैशाख ०५, २०७७

ब्रासिलिया, वैशाख ५ : ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटालाई बर्खास्त गरिएको छ । राष्ट्रपति जाइर बोल्सोनारोले बिहीबार उहाँलाई मन्त्री पदबाट हटाउनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रपतिको निर्देशनलाई पालना नगरेकोले उहाँलाई बर्खास्त गरिएको बताइएको छ । मन्त्रीले गरेको कतिपय कामप्रति बोल्सोनारोले केही समयदेखि असन्तुष्टि जनाउदै आउनुभएको थियो ।

राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्रीमा अर्को व्यक्तिलाई नियुक्त पनि गरिसक्नु भएको छ । विभिन्न सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको समाचार अनुसार नेल्सन टेइच नयाँ स्वास्थ्यमन्त्री बन्नुभएको हो ।

ब्रासिलियास्थित राष्ट्रपति कार्यालयमा पत्रकारहरुसँगको कुराकानीका क्रममा राष्ट्रपति बोल्सोनारोले बर्खास्त भएका मन्त्री मान्डेटाका बारेमा आफ्नो कुनै टिप्पणी नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले उहाँका बारेमा भन्नु केही छैन, उहाँलाई आलोचना गर्नु पनि छैन, म यस बारेमा केही बोल्दिन ।”

नवनियुक्त स्वास्थ्य मन्त्रीले अपेक्षाकृत काम गर्ने विश्वास गरिएको उहाँको भनाई छ । ब्राजिलमा कोरोनाभाइरसका कारण शुक्रबारसम्म ३० हजार ८९१ जना सङ्क्रमित भएका छन् भने एक हजार ९५२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार सङ्क्रमित भएकामध्ये १४ हजार २६ जना भने निको भएर बसेका छन् ।

तपाईको प्रतिक्रिया