वायु सेवा निगमका कार्यकारी अध्यक्ष घिमिरेको पदबहाली

  बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : नेपाल वायु सेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष सुशील घिमिरेले आज पदबहाली गर्नुभएको छ । नयाँसडकस्थित निगम मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष घिमिरेले निगम नेतृत्वको जिम्मेवारी सम्हाल्नुभएको हो ।

नवनियुक्त अध्यक्ष घिमिरेले निगमको कार्यकारी अध्यक्षका रुपमा औपचारिकरुपमा पदबहाली गर्नुभएको निगमका नायब महाप्रबन्धक गणेशबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा निगमका सबै विभागीय प्रमुखको पनि सहभागिता थियो ।

जिम्मेवारी पाएपछि घिमिरेले यसअघि निगमको वर्तमान अवस्थालाई सुधार गरी प्रतिस्पर्धी बजारमा अब्बल संस्थाका रुपमा स्थापित गर्नुको विकल्प नभएको बताउनुभएको थियो । मन्त्रिपरिषद्को यही वैशाख २ गते बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई निगमका अध्यक्षमा नियुक्त गरेको थियो ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि तीन महिनादेखि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । नवनियुक्त घिमिरे यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगम सञ्चालक समिति अध्यक्ष बन्नुभएको थियो ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गर्नुभएको थियो । उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ ।

कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था र निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो । अहिले घिमिरेकै काँधमा निगम सुधारर्ने जिम्मेवारी आएको छ ।

घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया