नेपाल पोलियोमुक्त भइसकेको छैन : डा. पोखरेल

  कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका सचिव डा.रोशन पोखरेलले नेपाल पोलियोमुक्त भए पनि पोलियोको खतराबाट मुक्त भइनसकेको बताउनुभयो । सोमबार विश्व पोलियो दिवसका अवसरमा डा. पोखरेलले नेपाल पोलियोमुक्त भए पनि संसारबाट पोलियो उन्मुलन नभएसम्म पुनः सङ्क्रमण फैलिन सक्ने जोखिम रहने बताउनुभयो ।

पोलियोको चुनौतीलाई सामना गर्न सबैको प्रतिबद्धता र समन्वयको आवश्यकता अपरिहार्य रहेको उहाँले जीकिर गर्नुभयो । अक्टुबर २४ मा संसारभर विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व पोलियो दिवस मनाइदैछ । यस वर्षको नारा ‘आमा र बालबालिकाहरुको लागि स्वस्थ भविष्य’ भन्ने नारा तय गरिएको छ ।

उहाँ भन्नुभयो, “हामी अझै पनि पोलियोको जोखिमबाट मुक्त भइसकेका छैनौँ । केही देशहरुमा पोलियो अझै पनि विद्यमान छ । अन्तर्राष्ट्रिय आवत जावतले यो रोग सर्ने सम्भावना बढाएको छ । हालै संयुक्त अधिराज्य तथा संयुक्त राज्य अमेरिका जस्ता देशमा गरिएको वातावरणीय निगरानीले पोलियोका भाइरसहरु पानीमा भेटिएकोले पोलियो उन्मुलनका लागि चुनौती थपिएको छ । यस्तै अफ्रिका केही देशहरुमा पुनः सङ्क्रमण फेलन सक्ने सम्भावना देखिएको छ ।”

खोपको कभरेज ९० प्रतिशतभन्दा बढी राख्न तिनै तहका सरकारहरुले खोप कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने डा. पोखरेलले जोड दिनुभयो । उहाँले भन्नुभयो, “सबै शिशुहरुलाई सबै खोप (मुख तथा सुईबाट) समयमै दिनुका साथै पोलिको खोपको कभरेज वडा स्तरमा ९० प्रतिशतभन्दा बढी राख्नुपर्ने अवस्था रहेको छ । जसले आमा र बालबालिकाहरुका लागि स्वस्थ भविस्य निर्माण पार्न सघाउ पुग्छ ।”

पोलियोमा नेपालको अवस्था यस्तो थियो
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहका अनुसार नेपालमा सन् १९९८ देखि सन् २०१० सम्म ३२ जना पोलियोको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछिका वर्षहरुमा कुनै पनि पोलियोको सङ्क्रमण फेला परेको छैन ।

नेपालको अन्तिम स्थानीय पोलियो केस सन् २००० मा ४ वटा केस फेला परेको थियो । सन् २००१ देखि सन् २००५ सम्म कुनै नयाँ केस देखा परेको थिएन । तर, सन् २००५ देखि सन् २०१०सम्म हरेक वर्ष ४ देखि ६ ओटाका दरले आयातित पोलियो केसहरु फेला परेका थिए ।

अन्तिम पोलियो केस सन् २०१० मा भेटिएको थियो । लगातार चार वर्ष नयाँ केश नभेटिएपछि सन् २०१४ मा दक्षिण एशियाका अन्य मुलुकहरुसंगै नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरियो ।

विश्व स्वास्थ्य सङ्गठन र ग्लोबल पोलियो उन्मुलन को प्रयासले १९८८ मा तीन लाख ५० हजार पोलियो रोगीहर देखिएका थिए भने सन् २०२२ मा ३३ जना पोलियाका केसहरु पुष्टि भएका छन् ।

डा. सिंहले पोलियाविरुद्धको खोपले बालबालिकाहरुमा हुने मुत्यु र अपाङ्गताबाट बच्च मद्दत गर्ने हुँदा सबै अभिभावकलाई बालबालिकाहरुलाई पोलियोका साथै अन्य खोप लिन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया