काठमाडौं, वैशाख ५ : नेपाल तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरु ठूलो मारमा परेको उल्लेख गर्दै उनीहरुका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
आवश्यक राहतको अभावमा खान, बस्न समस्या भई कतिपय मजदुर हिडेरै आफनो घर पुगेका, कतिपय बाटोमा अलपत्र परेका र केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको भन्दै तरुण दलले उनीहरुका लागि राहत तथा गन्तव्यसम्म पुग्नका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
साथै तरुण दलले राजमार्गमा हिडेर आफ्नो गन्तव्यमा गइरहेका मजदुरका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गर्न मातहतका कार्यसमितिलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह समेत गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागि जारी गरिएको लकडाउन लगायत रोकथामका अन्य कार्यमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सम्पूर्ण भातृ संगठनले सहयोग गरिरहेका बेला सरकार भने आफ्नो जिम्मेवारीबाट बिमुख देखिएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आरोप लगाउनुभएको छ ।
तरुण दलले वर्तमान विषम परिस्थितिमा पर्याप्त सुरक्षाका सामग्रीको कमीका बाबजुद पनि अग्रपङक्तिमा रही काम गरिरहेका स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एम्बुलेन्स चालक, फोहोर संकलकहरुको मुक्तकण्ठले प्रशंसा गरेको छ । अध्यक्ष बस्नेतले यी वर्गका लागि आवश्यक पर्ने सुरक्षा साम्रगीसँगै थप सुविधा पनि चाँडो व्यवस्था गर्न सम्बन्धित निकाय सँग माग गर्नुभएको छ ।