बेल्जियम, असोज ३१ : युरो नेपाल कलाकार सङ्घ बेल्जियमले देउसी भैलो शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । एन्टरपेन शहरमा बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
युरोपमा नेपाली भाषा ,कला संस्कृतिको जगेर्ना गर्न युरो नेपाल कलाकार सङ्घ बेल्जियमले सकारात्मक भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा नेपाली गीत सङ्गीतमा अतुलनीय योगदान गरेबापत सङ्घका संस्थापक मीन गुरुङलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमको उद्घाटन महामहिम राजदूत , अध्यक्ष बलराम पुन र संस्थापक अध्यक्ष मीन गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गर्दै गर्नुभएको थियो । गैर आवासीय नेपाली सङ्घ बेल्जियमका उपाध्यक्ष विशेष अतिथि तीर्थ धमलाले सङ्गीत नेपाली भाषा कला संस्कृतिको जगेर्ना गर्न अतुलनीय योगदान कलाकार सङ्घको रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुति गरिएको थियो ।