‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव’ शुक्रबारदेखि

  असोज २४, २०७९

बागलुङ, असोज २४ : शुक्रबारदेखि गलकोट नगरपालिका–६ मजुवा फाँटमा ‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव–२०७९’ सुरु हुने भएको छ । कात्तिक ७ गतेसम्म चल्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक ‘ड्रिम टिम गलकोट’ले जनाएको छ ।

संस्थाका अध्यक्ष रुपक पाण्डेका अनुसार महोत्सवमा खुला भलिबल प्रतियोगिता, एकल नृत्य, गायन, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), पुरुष रस्साकस्सी, दौड, ब्याडमिन्टनलगायत प्रतियोगिता सञ्चालन हुनेछन् । कृषि उपज, स्थानीय तथा स्वदेशी उत्पादन, पुरातात्विक वस्तु र झाँकी पनि प्रदर्शनमा राखिने भएको छ ।

महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला, बाल उद्यान र साङ्गीतिक कार्यक्रम पनि सञ्चालन हुने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । व्यापार, खेलकुद, स्थानीय कला, संस्कृतिको प्रवद्र्धनसँगै मनोरञ्ज गतिविधिका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

“महोत्सवस्थल निर्माण, प्रचारप्रसार र व्यवस्थापकीय तयारीमा जुटेका छौँ”, अध्यक्ष पाण्डेले भन्नुभयो, “बर्सातले काममा चाप परे पनि शुक्रबारदेखि नै महोत्सव सुरु हुन्छ ।” महोत्सवस्थलमा एक सय २० वटा व्यापारिक स्टल रहने जनाइएको छ । एघास दिनसम्म सञ्चालन हुने महोत्सवमा झन्डै रु एक करोडको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सव अवधिभर हेलिकप्टरबाट घुम्टे दर्शनसहित गलकोट आसपासका पर्यटकीयस्थलको अवलोकन पनि गर्न पाइने भएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने कार्यक्रम संयोजक हुम थापाले बताउनुभयो । हास्य कलाकार मनोज गजुरेल, गायक शिव परियारलगायत कलाकार आउने तय भइसकेको उहाँको भनाइ छ । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको पालिकास्तरीय भलिबल प्रतियोगिताका विजेताले रु दुई लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ११ हजार एक सय ११ प्राप्त गर्ने जनाइएको छ ।

गायनतर्फ ‘भ्वाइस अफ गलकोट’का विजेतालाई रु ३० हजार र नृत्यका विजेतालाई रु ३० हजार तीन सय ३३ पुरस्कार प्रबन्ध गरिएको कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो । गत वर्ष पुसपछि ‘ड्रिम टिम गलकोट’ले दोस्रोपटक महोत्सव आयोजना गर्न लागेको हो । त्यसअघि पनि गलकोट उद्योग वाणिज्य सङ्घ, गलकोट घुम्टे पर्यटक विकास केन्द्रलगायत सङ्घसंस्थाले गलकोटमा मेला, महोत्सवको आयोजना गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया