काठमाडौँ, असोज १७ : नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
महागौरीको रङ पहिले केही कालो भएकाले भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले उनलाई महागौरी भनिएको हो भन्ने विषय विभिन्न पुराणमा वर्णन गरिएको छ । सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेकी स्वरुपमा महागौरी हुन्छिन् भन्ने ती पुराणमा लेखिएको छ ।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।
दोस्रो दिन असोज ११ गते मङ्गलबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज १२ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन असोज १३ गते बिहीबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो भने पाँचौँ दिन असोज १४ गते शुक्रबार स्कन्दमाताको पूजाआराधना गरियो । छैटौँ दिन असोज १५ गते शनिबार कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । सातौँ दिन असोज १६ गते आइतबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरियो ।
दुर्गा पक्षको आठौँ दिन आज असोज १७ गते महागौरी देवीको विशेष पूजाआराधना गरिएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशति (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसबीचमा मान्यजनका हातबाट टीका थाप्न जाने परम्परा पनि नेपाली समाजमा छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व भव्य रुपमा मनाउँछन् ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । महाअष्टमीका अवसरमा आज देशभरका शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको भीड लागेको छ । पशु बलि नदिनेले भने नरिवल, कुभिण्डो, काँक्रो, मुलालगायत बलि दिने गर्छन् ।