कञ्चनपुर, असोज १२ : सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विनिता चौधरीले सहकारीमा आबद्ध सबै सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित कलश महिला कृषि सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनको आज आयोजित उद्घाटन कार्यक्रममा उहाँले सहकारीले कृषिमा लगानी गरी उत्पादन बढाई आबद्ध सदस्यलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।
सहकारी अर्थतन्त्रको बलियो खम्बा भएको चर्चा गर्दै उहाँले प्रदेश सरकारले जनताको माग र आवश्यकताका आधारमा सहकारीमा लगानी गरिएको बताउनुभयो ।
“स्थानीय सरकारसँग सहकार्य गरी सहकारीको उत्थानका लागि कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “सहकारीमार्फत आर्थिक रुपमा विपन्न समुदायलाई व्यावसायिक बनाउन कार्यक्रम सञ्चालन गरिएका छन् ।” सहकारीमार्फत रोजगारी सृजना गरी जानुपर्छ भन्ने सरकारको लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो ।
“प्राकृतिक प्रकोप जानकारी दिएर आउँदैन”, उहाँले भन्नुभयो, “त्यसैले सहकारीबाट कर्जा लिई व्यावसायिक कृषिमा संलग्न कृषकले अनिर्वाय रुपमा कृषि बीमा गराउनुपर्छ, बीमा गरिए सम्भावित जोखिमबाट बच्न सकिन्छ ।”
बीउ उत्पादनमा सुदूरपश्चिम प्रदेश देशमै दोस्रो स्थानमा रहेको उल्लेख गर्दै उहाँले यहाँ उत्पादित बीउ बाह्य जिल्लामा निर्यात भइरहेको बताउनुभयो । सहकारीले बीउ उत्पादन र बजारमा पु¥याउनका लागि अहम् भूमिका खेलेको उहाँले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले सहकारीले अग्र्यानिक तरकारी उत्पादनमा जोड दिई बेलडाँडीलाई कृषि पर्यटन गाउँका रुपमा विकास गरिनुपर्ने बताउनुभयो ।
नगरप्रमुख रणबहादुर महराले कृषि उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाले कृषि विज्ञ नियुक्त गरी सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाउनका लागि छलफल गरिरहेको बताउनुभयो ।
चौतिस लाखको लागतमा सहकारी भवन निर्माण
शुक्लाफाँटा–८ बेलडाँडीस्थित कलश महिला कृषि सहकारी संस्था लिमिटेडको रु ३४ लाख ५० हजारको लागतमा कार्यालय भवन निर्माण गरिएको छ ।
सहकारीका अध्यक्ष मीना डगौराका अनुसार कृषि ज्ञान केन्द्रको रु ३० लाख अनुदान र सहकारीको रु चार लाख ५० हजारको लागतमा सहकारी भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा सभा हलसहित दुई कार्यालय कक्ष, दुई शौचालय निर्माण गरिएका छन् ।