काठमाडौँ, वैशाख ४ : कोरोना भाइरसको कारण विश्वभर सूचनाको हकको कार्यान्वयनमा परेको असरको विषयमा सूचनाको हकसम्बन्धी विश्वभरका नियकाहरूको संस्था ‘इन्टरनेशनल कन्फरेन्स अफ इन्फर्मेशन कमिस्नर (आइसीआइसी) को ध्यानाकर्षण भएको जनाइएको छ ।
सूचनाको हकसम्बन्धी व्यवस्थाको अनुगमन, कार्यान्वयन, संरक्षण तथा संवद्र्धन गर्न स्थापित निकाय आइसीआइसीले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सूचनाको हक संवैधानिक तथा मौलिक हकका रूपमा रहेको हँुदा यस विषम परिस्थितिमा उक्त हकको पालन गर्नु थप महत्वपूर्ण हुने भएकाले प्रयोग गर्न आह्वान गरेको छ ।
महामारीको समयमा सार्वजनिक निकायले गर्ने गरेका खरीद प्रक्रिया, वितरणलगायत सम्पूर्ण गतिविधिको चासो राखी यसको व्यवहारगत रूपमा प्रयोग गर्न विज्ञप्तिमा भनिएको छ ।
यस सङ्गठनको कार्यकारी समितिका रूपमा रहेको ‘गभर्मेन्ट ओर्किङ ग्रुप’ (जिओजी) मा नेपालका तर्फबाट राष्ट्रिय सूचना आयोग सदस्य रहेको छ । यसको नियमित बैठकहरूमा नेपालले पनि भिडियो कन्फरेन्समार्फत सहभागी भएर आफ्ना धारणाहरू राख्ने गरेको छ ।
सार्वजननिक निकायले विभिन्न माध्यमद्वारा समयमा सत्य सूचना प्रवाह गर्न आह्वानसहित स्वतः सार्वजनिक गर्न तथा सूचना मागकर्तालाई सूचनाहरू सरल रूपमा दिन यसअघि पनि राष्ट्रिय सूचना आयोगले सबै निकायको ध्यानाकर्षण गराएको थियो ।