काठमाडौं, भदौ १७ : ओपनर आसिफ शेखको शतकप्रेरित नेपालले घरेलु टोली केन्यासँगको पहिलो एक दिवसीय खेलमा सात विकेटको सहज जित निकालेको छ।
नौरबीस्थित जिमखाना क्रिकेट मैदान केन्याले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाएर भेट्टायो। योसँगै नेपालले तीन एक दिवसीय श्रृंखलामा १-० को अग्रता लिएको छ। नेपालको जितमा ओपनर आसिफले शतकीय इनिङ खेले। आसिफले एक सय २० बलमा १२ चौका र दुई छक्कासहित एक सय १० रन बनाउने क्रममा बोल्ड हुन पुगेका थिए।
यसअघि अर्का ओपनर अर्जुन साउदले व्यक्तिगत ६१ रनको साथ दिएका थिए। अर्जुनले ९७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। यसबाहेक, ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १५ र कप्तान रोहितकुमार पौडेल तीन रनमा अविजित रहे। केन्याका रकिब, कोलिन्स र विशिल पटेलले समान एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन जोड्न सफल भएको थियो । केन्याका रकिब पटेल ६७ र कोलिन्स ओबुयाले ६२ रन अर्धशतकीय इनिङ खेलेका थिए । घरेलु टिमका इर्फान करिमले ३० रन सचिन भुडियाले २६ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
केन्याको इनिङलाई रोक्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले समान तीन/तीन विकेट लिए। यसबाहेक, आदिल अन्सारी र पवन सर्राफले एक-एक विकेट आफ्नो नाममा लेखाए। दोस्रो खेल शनिबार हुनेछ। यस अघिको पाँच खेलको ट्वान्टी-२० श्रृंखला नेपालले ३-२ ले आफ्नो पक्षमा बनाएको थियो।