बीमाको पहुँच गाउँ–गाउँमा पुर्याउनुहोस् : अर्थमन्त्री

  भदौ १६, २०७९

सुर्खेत, भदौ १६ : अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच पु-याउन बीमा समितिलाई निर्देशन दिनुभएको छ । बीमा समितिको कर्णाली प्रादेशिक कार्यालयको बिहीबार सुर्खेतमा उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिनुभएकाे हाे ।

बीमा समितिको अधिकार प्रदेशसम्म विस्तार गर्न कार्यालय खोलिएकाले बीमा सेवा सहर–बजारमा सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बीमा कम्पनीले समयमा भुक्तानी नदिने, बीमितले दाबी अनुसारको भुक्तानी नपाउने गुनासो सुनिने गरेको भन्दै थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो ।

 

सरकारले लघुवित्तमार्फत सहुलियतपूर्ण ऋण जनताको खेतबारी पु-याउने लक्ष्य लिएको छ, बीमा कम्पनीहरु पनि पुग्नुप-यो, कर्णालीका सबै पालिकामा अनिवार्य पुग्ने गरी कार्यक्रम बनाउनुस् ।

संविधानको अनुसूची ७ मा सङ्घ र प्रदेशका साझा अधिकारमा बीमा व्यवसाय पनि भएकाले प्रदेश सरकारले पनि बीमासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । अर्थमन्त्री शर्माले १२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले सरकारले बीमा कलेज स्थापनाको तयारी गरेको जानकारी दिनुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले बीमा समितिको प्रदेश कार्यालय स्थापनाले कर्णालीका किसान लाभान्वित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह (आचार्य) ले गरिब परिवारहरु बीमाको पहुँच बाहिर रहेकाले बीमा समितिले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव दिनुभयो । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा व्यवसायलाई विविधिकरण गर्दै गरिबी न्यूनीकरणमा टेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया