सिमकोट, चैत २९ : दुर्गम उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य संकट भएको छ । चीनसँग सीमा जोडिएको नाम्खाका विकट गाउँमा खाद्यान्नको अभाव रहेको छ ।
कोभिड–१९ को महामारीले देशविदेशका सीमानाका बन्द हुँदा स्थानीय तथा बाहिरीरुपमा खाद्यान्नलगायत अन्य काममा पनि संकट चुलिँदै गएको छ । उक्त पालिकाको वडा ४ चालागाउँका दोर्जे लामाका अनुसार आधारभूत आवश्यकताका सामग्रीका साथै दैनिक उपभोग्य वस्तु पनि चीनबाट ल्याइने हुँदा लकडाउनको असरले खाद्य संकट भएको छ ।
गाउँपालिकाका तिल, जाङ, चाला, यारी, मुचु, तुम्कोट र अन्य गाउँका बासिन्दा पनि चीनबाट नै कमाई गरी ल्याएको सामग्रीबाट जीविकोपार्जन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् । वर्षौँदेखि चालागाउँलेले चीनको ताक्लाकोटमा गएर आवश्यकताका सामाग्री ल्याउने भए पनि यस वर्ष सीमानाका बन्द हुँदा संकट भएको अर्का बासिन्दा टसि लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “ भोट माग्न मात्रै आउँछन्, हामीहरुलाई भोकै छ कि खाएको छ, कसैले सोध्ने गर्दैनन् ।”
भौलिक विकटताका साथै यस वर्षको अत्यधिक हिमपातले बाटोघाटो आवातजावत गर्न एकातिर कठिनाइ छ भने अर्कािितर लकडाउनले असर पारेको छ । करीब ३५ घरधुरी रहेको चालागाउँमा वर्षको एक बाली मात्रै अन्न उत्पादन हुन्छ । सो उत्पादननले चार महिना पनि खाना पुग्दैन । यसले गर्दा कि सदरमुकाम सिमकोटबाट कि त नजीकैको सीमा बजार ताक्लोकोटबाट आठ महिनाका लागि खाद्यान्नको व्यवस्था गर्नुपर्ने बाध्यता छ ।
अहिले चालागाउँमा गएका स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीलाई पनि खानपिनको व्यवस्था गर्न स्थानीयवासीलाई धौधौ परेको चाला स्वास्थ्यचौकीका इञ्चार्ज गणेश रोकायाले बताउनुभयो । सो गाउँमा एकातिर खाद्य संकट देखिएको छ भने अर्कातिर गाउँमा गएका कर्मचारीलाई स्थानीय वातावरण र खानापिनमा बानी पार्न गाह्रो भएको जानकारी प्राप्त भएको छ ।
गाउँमा न त भरपर्दो सञ्चारका सेवासुविधा उपलब्ध छन् न त स्वास्थ्य र शिक्षा । आफूहरुको सेवासुविधामा स्थानीय तहका पदाधिकारीले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् ।