मदन भण्डारी स्कुल अफ एशियाको तीन साताव्यापी प्रशिक्षण सुरु

  साउन १६, २०७९

काठमाडौँ, साउन १६ : मदन भण्डारी स्कुल अफ एशियाको आयोजनामा समाजवादी शिक्षण सिकाइसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ ।

विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरूको सहभागिता रहेको उक्त प्रशिक्षण तीन सातासम्म सञ्चालन हुनेछ । प्रशिक्षणमा नेपाल, अर्जेन्टिना, ब्राजिल, स्पेन, घाना, थाइल्याण्ड, मलेशिया, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, प्लालेस्टाइनलगायत मुलुकका ६० प्रतिनिधिको सहभागिता छ ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कार्यक्रमको उद्घाटन गर्दै गरिबी न्यूनीकरण, सामाजिक समस्या समाधान तथा आर्थिक विकासका लागि वैज्ञानिक चिन्तन कम्युनिष्ट विचारमा समावेश गरिएकाले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्ने बताउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्नुभयो ।

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कार्यक्रमले कम्युनिष्ट आन्दोलनको अवस्थासहित त्यससम्बन्धी ज्ञान आर्जन गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्कुल अफ एशियाका अध्यक्ष बलराम बाँस्कोटाले उक्त कार्यक्रमअन्तर्गत अनिवार्य श्रम गर्ने, सांस्कृतिक रात्रि कार्यक्रम सञ्चालन गर्ने विभिन्न देशका संस्कृतिलाई प्रदर्शन गरिने, क्रान्ति, वर्ग सङ्घर्ष, कम्युनिष्ट घोषणापत्र, पूँजीवाद र साम्राज्यवादका विरुद्ध समाजवादको पक्षसँगका छलफलका साथै कम्युनिष्ट आचरणलाई जोगाउने कार्यसम्बन्धी प्रशिक्षण दिइने जानकारी दिनुभयो ।

स्कुल अफ एशियाका कोअर्डिनेटर प्रमेश पोखरेलले विश्वमा १५ वटा माक्र्सवादी स्कुलमध्ये मदन भण्डारी स्कुल अफ एशियाले माक्र्सवादको महत्वपूर्ण र गहिरो अध्ययन गर्दै आएको बताउँदै अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीका प्रतिनिधिको सहभागितामा प्रशिक्षण सञ्चालन हुनु गौरवको विषय भएको विचार व्यक्त गर्नुभयो ।

प्रशिक्षणमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरुसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपमहासचिव डा विजय पौडेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतले प्रशिक्षण तथा अनुभव प्रदान गर्ने कार्ययोजना छ ।

तपाईको प्रतिक्रिया