काठमाडौँ, साउन १२ : पन्त स्मृति प्रतिष्ठानले हास्यव्यङ्ग्य, साहित्य र नृत्यकलालगायत विभिन्न विधाका नौ व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानले हास्यव्यङ्ग्यतर्फ ‘गोपाल पन्त स्मृति सम्मान पुरस्कार–२०७८’ कलाकार किरण केसीलाई र साहित्यिक विधागत पत्रिकातर्फको ‘वन्धु पन्त स्मृति सम्मान पुरस्कार–२०७८’ ‘वैजयन्ती’ साहित्यिक विधागत पत्रिकालाई प्रदान गर्ने निर्णय गरिएको सदस्य सचिव अञ्जु पन्तले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ ।
त्यसैगरी उपन्यासमा रु २५ हजार राशिको ‘रामराज पन्त स्मृति सम्मान पुरस्कार’ उपन्यासकार मीरा गोतामेलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
प्रतिष्ठानले नृत्यकलामा ‘सदिच्छा बाल प्रतिभा पुरस्कार’ कान्छी तामाङलाई, चित्रकलामा ‘सीताश्री स्मृति सम्मान पुरस्कार’ तीसा श्रेष्ठ, समालोचनामा ‘टीका मुकुन्द पन्त स्मृति पुरस्कार’ प्रा ठाकुर शर्मा भण्डारी, अशक्तता समाजसेवामा ‘आमा इन्दिरा पन्त स्मृति सम्मान पुरस्कार’ छुल्टिम शेर्पा र बालसाहित्यमा ‘सुशीला पन्त स्मृति बाल साहित्य सम्मान पुरस्कार’ शान्तादास मानन्धरलाई प्रदान गर्ने भएको छ ।
पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । सम्मान तथा पुरस्कार यही साउन २० गते शुक्रबार कमलपोखरीस्थित रसियन कल्चरमा आयोजित कार्यक्रममा प्रदान गरिनेछ ।