काठमाडौँ, साउन ११ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताउनुभएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिनुभयो । मन्त्री खापुङले परिषद्को कर्मचारीको समस्या समाधान गर्नेसमेत बताउनुभयो ।
सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले संरचना परिवर्तन नगरी मुलुक नबन्ने भन्दै परिषद्को पनि संरचना परिवर्तन गर्नुपर्ने भनाइ राख्नुभयो । परिषद् अध्यक्ष प्रा डा गेहनाथ वरालले परिषद्का नीतिगत र प्रक्रियागत कामलाई पूरा गर्नुपर्ने बताउनुभयो । कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले परिषद्ले अहिलेसम्म गरेका कामको बारेमा मन्त्रीद्वयलाई जानकारी गराउनु भयो ।