काठमाडौँ, साउन ६ : विश्व तेक्वान्दो च्याम्पियनसिपमा सेकेन्ड क्लास अन्तरराष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने हुनुहभएको छ ।
उक्त प्रतियोगिता बुल्गेरियाको सोफियामा हुनेछ । प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ । साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि हुनेछ । कोर्समा पनि अशोक सहभागी हुनुहुनेछ ।
निर्णायकका लागि विश्व तेक्वान्दोले नै छनोट गरेको खड्काले जानकारी दिनुभया । उहाँको दक्षिण एसियाबाट उक्त प्रतियोगिताका लागि निर्णायकमा छनोट हुने अशोक एक्लो हुनहुन्छ ।
वैशाख यता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौँ पटक हो । यसअघि उहाँले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै विदाइ गर्नुभयो ।
उक्त प्रतियोगिताको लागि अशोक आइतबार बुल्गेरियाको सोफिया प्रस्थान गर्नुहुनेछ ।