सिन्धुपाल्चोक, साउन २ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ ।
अस्पतालका कार्यालय प्रमुख डा धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही कार्यालयका पूर्वएम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए ।
हातपात गर्ने पूर्वकर्मचारीलाई छानबिन गरी कारबाही नगरुञ्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
कुटपिट गर्ने व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक कुमार चौलागाईंले जानकारी दिनुभयो । गाउँपालिकाले करार सेवामा रहेका हातपात गर्ने कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाएको थियो ।