काठमाडौं, असार ३० : राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ ।
बिहीबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गर्नुभएको हो । उहाँले नियम, कानुन, मूल्य मान्यता, गल्ति र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दवाव, आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसात् गर्न आग्रह गर्नुभयो ।
त्यस्तै, सांसद सरलादेवी भट्टले सरकारले महँगी नियन्त्रण गरी जनतालाई राहत दिनुपर्ने बताउनुभयो । उहाँले बजार महँगीले दिनभरि काम गरेर बिहान बेलुका दुई छाक खाने परिवार अहिले भोकभोकै बस्न बाध्य रहेको गुनासो गर्नुभयो । उहाँले बजार मूल्य नियन्त्रण गर्ने सरोकारवाला निकाय र सरकार मौन बसेको बताउनुभयो ।
सांसद सुमित्रा बिसीले सरकारले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अवस्थामा आवश्यक नै नभएको हतियार खरिद गर्न लागेको भन्दै आपति जनाउनुभयो । उहाँले सरकारले सांसदहरुसँग समेत छलफल बिना महत्वपूर्ण नागरिकता, हतारहतार किन्ने, महिला हिंसा विधेयक हतारहतारमा ल्याएको बताउनुभयो ।
सांसद बिसीले सम्बन्धित निकायले आवश्यक छैन भन्दा भन्दै पनि प्रतिपक्षको विरोध आयो भनेर बालुवाटार बोलाएर विज्ञप्ति निकाल्ने कुरा संसदमा सरकारले जानकारी दिनुपर्ने बताउनुभयो ।