भैरहवा, चैत २८ : लकडाउनका कारण मुलुकको निर्माण क्षेत्र ठप्पजस्तै भए पनि भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम भने धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि आवश्यक उपकरण चीनमै रोकिए पनि यहाँ रहेका कामदारले काम निरन्तर जारी राखेका छन् । सरकारले केही दिनअघि मात्रै कामदारलाई भित्रै सुरक्षित राखेर ठूला आयोजनालाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
कोरोना भाइरसका कारण सुरुमा चीनले सामग्री रोकेको थियो भने पछिल्लो समय रसुवागढी नाका बन्द भएपछि विमानस्थलका लागि आवश्यक सामान नेपाल भित्रिन पाएका छैनन् । चिनियाँ नयाँ वर्ष मनाउन आफ्नो देश फर्किएका २० जना प्राविधिक कामदार पनि चीनमै रोकिएका छन् । विमानस्थल निर्माण आयोजनाका अनुसार अहिले प्राविधिक र कामदार गरी २८ जनाको चिनियाँ टोली विमानस्थल निर्माणमा खटिएको छ । उनीहरू लकडाउनको बेला पनि दिनरात नभनी काम गरिरहेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार परियोजना क्याम्पभित्रै बस्ने मजदुरहरूले धमाधम काम गरिरहेका छन् । लकडाउनका कारण धेरै क्षेत्रको निर्माण कार्य ठप्पजस्तै भए पनि हाम्रो काम जारी छ, २८ जना चिनियाँ कामदारसहित ८० जना कामदारले विमानस्थल निर्माणको काम गरिरहेका छन्, अधिकारीले भन्नुभयो । विमानस्थल निर्माणका लागि लकडाउनअघि सम्म दैनिक दुई सय कामदार खटिएका थिए ।
अहिले भने क्याम्पभित्र रहेकाले मात्र कामलाई निरन्तरता दिएका हुन् । विमानस्थलको पुरानो धावन मार्गमा लाइट जडान, टर्मिनल भवनको फिनिसिङ, सेन्ट्रल एसी जडान, टायल लगाउने र तारबारको काम चलिरहेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको काम अझै १० प्रतिशत बाँकी रहेको बताउनुभयो । जसमा ६ प्रतिशत उपकरण जडानको काम र ४ प्रतिशत भौतिक पूर्वाधारका अन्य काम बाँकी छन् ।
लकडाउनका बेला अन्य गतिविधिमा स्थानीय प्रशासनले कडाइ गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको काम सुरक्षित एवं सतर्कताका साथ अघि बढाउने भनेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउनका बेलामा पनि काम गर्न अनुमति दिएको हो । आयोजना प्रमुख अधिकारीले प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी प्रमुखसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो । उहाँले बाहिरबाट सामान ल्याउन गाह्रो भए पनि आइसकेका सामानहरूको जडान नरोकिएको बताउनुभयो ।
विभिन्न समयमा समस्या झेल्दै आएको गौतमबुद्ध विमानस्थल निर्माण आयोजनाको लागत पनि बढ्दै गएको छ । समय लम्बिँदा लागत स्वतः बढ्ने अधिकारीले बताउनुभयो । विमानस्थल निर्माणको कुल लागत छ अर्ब ८२ करोड रुपियाँ छ । यो रकम जग्गा अधिग्रहणबाहेकको हो । यसमा एसियाली विकास बैङ्कको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ । आयोजनाअन्तर्गत १० मेगावाट सौर्य ऊर्जा निकाल्न करिब एक अर्ब लागत लाग्ने अनुमान छ ।
विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेगावाट विद्युत् उत्पादन गर्नेगरी काम अघि बढाइएको छ । आयोजना प्रमुख अधिकारीका अनुसार एडीबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । विमानस्थललाई प्रदूषणरहित विमानस्थलका रूपमा विकास गर्नेगरी मुलुकमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढेको अधिकारीलाई उद्धृत गर्दै गोरखापत्रले जनाएको छ ।