काठमाडौं, चैत २७ : सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि घोषित देशव्यापी ‘लकडाउन’ लाई प्रभावकारी बनाउनका लागि बिदामा रहेका आफ्ना सम्पूर्ण निजामती तथा राष्ट्रसेवक कर्मचारीहरूलाई परिचालित हुन सर्कुलर जारी गरेको छ ।
सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई बिहीबार सर्कुलर जारी गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सक्रियता अपनाउन निर्देशन दिएको हो ।
संक्रमण फैलन नदिन सरकारद्वारा घोषित लकडाउन अपेक्षाकृत रूपमा प्रभावकारी नभएको जनगुनासो आइरहेकाले सरकारले आफ्ना सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई लकडाउन सफल बनाउनका लागि क्रियाशील हुन सर्कुलर जारी गरेको जानकारी दिए ।
लकडाउनसँगै अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कर्मचारीलाई सरकारले बिदा दिएको छ । सरकारले लकडाउनलाई प्रभावकारी बनाउन तिनै बिदामा रहेका कर्मचारीलाई आ–आफ्नो घर वा डेरा रहेको स्थानमा क्रियाशील हुन निर्देश गरेको हो ।
९ बुँदे निर्देशनमा सरकारले कर्मचारीहरूलाई आफू बसेको स्थानमा सामाजिक दुरी कायम गर्न लगाउनु पर्ने र विदेशबाट आएका व्यक्तिलाई वडा कार्यालय र स्थानीय प्रशासनसित समन्वय गरी क्वारेन्टाइनमा राख्ने जिम्मा दिएको छ ।
कोरोना भाइरस संक्रमणसित मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई अस्पताल पुर्याउन, दैनिक उपभोग्य वस्तुको अभाव र कालो बजारी हुन नदिन तथा भएको पाइएमा वाणिज्य तथा आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालयलाई तत्काल सूचित गर्नसमेत कर्मचारीहरूलाई सर्कुलर जारी गरिएको छ ।
सरकारले दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने बजार, किराना पसल तथा तरकारी तथा फलफूल बजारमा सामाजिक दुरीको नियम पालना भए/नभएको अनुगमन गर्न, नभएको पाइएमा पालना गराउनसमेत कर्मचारीलाई निर्देशन दिएको छ ।
सरकारले कर्मचारीहरूलाई आ–आफ्नो घर या डेरा रहेको स्थानमा कुनै पनि व्यक्तिलाई अनावश्यक रूपमा बाहिर निस्कन नदिन, अनिवार्य रूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न लगाउनसमेत निर्देश गरेको छ । आफू बसेको वडा कार्यालयमा हुने अति विपन्न नागरिकको लगत संकलन र राहत वितरण कार्यमा सहयोग र समन्वय गनसमेत कर्मचारीहरूलाई सर्कुलरमा निर्देशन दिइएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।