काठमाडौं, चैत २६ : कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए/नभएको पत्ता लगाउने गरी ल्याब टेष्ट संख्यामा वृद्धि भएको छ । यसलाई जनस्वास्थ्य विज्ञहरुले उत्साहजनक सुधार भनेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाअनुसार बुधबार मात्र सबै ल्याबमा गरेर २५६ जनाको परीक्षण गरिएको छ । र, सबैको रिजल्ट नेगेटिभ आएको छ । यस्तै १७९ वटा नमुना परीक्षणको नतिजा आउन बाँकी नै छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र १६९ टेष्ट भएको छ, जसमा सबै रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको १८ टेष्टको नतिजा नेगेटिभ आएको छ भने ४० वटाको नजिता आउन बाँकी छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ टेष्ट भएको छ भने ८२ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ ।
यसअघि सबै स्थानमा गरेर दिनमा सयभन्दा कम संख्यामा परीक्षण हुने गरेको थियो । र, सुस्त गतिमा टेष्ट गरेको भन्दै विज्ञहरुले आलोचना गरेका थिए ।
अहिले कोरोना संक्रमण टेष्टको संख्यामा भएको वृद्धिलाई जनस्वास्थ्य विज्ञ उत्साहजनक सुधार मान्छन् । उनले आलाइनखबरसँग भने, ‘एकैदिनमा यति धेरै टेष्ट हुनु उत्साहजनक सुधार हो । तर पर्याप्त होइन किनभने हामीले अझै एक्टिभ केस पत्ता लगाउनुपर्छ । र, त्यसका लागि समुदायमा जानुपर्छ ।’
नमुना संकलन पनि बढ्यो
पछिल्लो दुई दिनमा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनले पनि गति पाएको छ । मन्त्रालयकाअनुसार अछाम, जुम्ला र सुर्खेतबाट ८०२ वटा नमुना संकलन गरिएको छ । यस्तै डोटीबाट ३३० नमुना संकलन गरिएको छ भने कैलाली र कञ्चनपुरबाट १९६ वटा नमुना संकलन भएको छ ।
अहिले स्थानीय तहहरुले बनाएका क्वारेन्टाइनमा बसेकाहरुको नमुना संकलन गरिएको हो ।
सम्भावित संक्रमितको रिपोर्ट नेगेटिभ
यसैबीच इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अहिलेसम्म कोरोना संक्रमण देखिएका नौ जनाको कन्ट्याक ट्रेसिङको काम सकिएको बताएको छ । महाशाखाका निर्देशक वासुदेव पाण्डेले भने, ‘कन्ट्याक ट्रेसिङसँग संकलन गरिएका नमुनाहरुको परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण भेटिएन ।’
पाण्डेकाअनुसार भारतको मुम्बइबाट आएका दुई संक्रमित र धनगढीको स्थानीय महिलाको प्रत्यक्ष सम्पर्कमा आएका गरेर ३२ जनाको कन्ट्याक ट्रेसिङ गरिएको थियो । भारतबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष सीधै क्वारेन्टाइनमा गएका कारण धेरै मानिससँग सम्पर्क नभएको देखिएको छ ।
तर दोस्रो संक्रमितसँगै यात्रा गरेर आएका दुई जना अझै सम्पर्कमा आएका छैनन् । निर्देशक पाण्डेले भने, ‘दोस्रो संक्रमितसँगै यात्रा गरेर आएका दुई जना सम्पर्कमा आएका छैनन् । तर उहाँहरु आएको दुई साताभन्दा बढी भएकाले स्वस्थ नै हुनुहुन्छ होला ।’
संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका अरुमा भने संक्रमण देखिएको छैन । ‘आज संकलन गरिएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आयो भने जोखिम कम हुन्छ,’ निर्देशक पाण्डेलाई उद्धृत गर्दै अनलाइन खबरले जनाएको छ ।