लन्डन, चैत २५ : इग्लिस प्रिमियर लिग क्लब लिभरपुलले आफ्ना गैर खेलाडी कर्मचारीलाई कोरोना भाइरस संक्रमणका बेला बिदा दिएर तिनको तलबका लागि सरकारको भर पर्ने निर्णय फेर्दै सोमबार माफी मागेको छ ।
कोरोना भाइरस (कोभिड- १९)को संक्रमण त्रासका कारण लिग स्थगित हुने अवस्थामा छ। हाल खेलहरू सबै स्थगित गरिएका छन् । लिग नै स्थगनको निर्णय अगाडि अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले बेलायती सरकारको अनुदानमा भर परेर बिदा लिने कर्मचारीको तलब दिने निर्णय गरेका थियो ।
क्लबका समर्थक र पूर्व खेलाडीले त्यस निर्णयको चर्को आलोचना गरेका थिए। त्यस निर्णय अनुसार बिदाका बेलाको ८० प्रतिशत तबल सरकारले बेहोर्ने गर्छ । यसअघि यस्तै निर्णय टोटनहम, न्युकासल, बर्नमाउथ र नरविचले गरेको थियो ।
लिभरपुलले पछिल्लो सिजन ५ करोड डलर भन्दा बढी नाफा गरेको थियो। क्लबका प्रमुख कार्यकारी पिटर मुरले भनेका छन्, ‘हामीले गलत निर्णय गरेका थियौं र त्यसका लागि माफि माग्न चाहन्छौं ।’