पोखरा, चैत २५ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको राम्रो तयारी गरेकाले कसैले पनि अकालमा मर्नुपर्ने अवस्थाको सिर्जना नहुने बताउनुभएको छ ।
प्रदेशमा कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सरकार सक्रिय रहेको छ भन्दै मुख्यमन्त्री गुरुङले सोमबार गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो, ‘‘सङ्क्रमण फैलिन नदिने एक मात्र उपाय सामाजिक दूरी बढाउनु हो, त्यसैले घरमै बस्नुस् ।’’
कोही विदेशबाट आउनुभएको वा कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहनुभएको छ भने सुरक्षित क्वारेन्टाइनमा बस्नुस्, सङ्क्रमण देखिए अकालमा मर्नुपर्ने अवस्थाको सिर्जना हुन दिन्नौँ, त्यसका लागि आवश्यक तयारी प्रदेश सरकारले गरिरहेको छ, मुख्यमन्त्री गुरुङले भन्नुभयो ।
मुख्यमन्त्री गुरुङले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न धेरै प्रयास गरिरहेको र सङ्क्रमित भेटिएपछि त्यसको सफल उपचारको समेत व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले अहिलेसम्म प्रदेशको बागलुङमा बेल्जियमबाट आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ, सङ्क्रमण पुष्टि भएसँगै हामीले उहाँहरूको उपचारका लागि आवश्यक कामहरू अगाडि बढाएका छौँ भन्नुभयो ।
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकबाट नीतिगत तयारीसँगै सङ्घीय सरकारसँग समन्वय गर्न उच्चस्तरीय समिति, निर्देशक समिति, स्थानीय व्यवस्थापनका लागि सचिवालयसँगै १० वटा समिति गठन गरेर अगाडि बढिरहेको गुरुङले बताउनुभयो ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिनका लागि बाहिरबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई आइसोलेसनमा राख्ने र सङ्क्रमित पुष्टि भएकालाई उपचार गर्ने गरी काम अगाडि बढाइएको छ । गण्डकी प्रदेशभरि तीन हजार तीन सय व्यक्ति अट्न सक्ने गरी हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेका र विदेश वा बाहिरबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन् ।
यस्तै सम्भावित सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई राख्नका लागि पोखरामा १०० शøया र हरेक जिल्लामा पाँच÷पाँच शøयाको आइसोलेसन वार्ड तयार गरिएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनहरू मापदण्ड पुगेका छन् कि छैनन् भन्ने विषयमा अनुगमन भइरहेको र मापदण्ड नपुगेको भए त्यसलाई सुधार गरेर सुविधा थप गर्ने गरिएको उहाँले बताउनुभयो ।
यस्तै प्रदेश सरकारले हरेक जिल्लामा रहेका जिल्ला अस्पतालमा फिवर क्लिनिक स्थापना गरी सम्भावित सङ्क्रमितको पहिचान गर्न सहजीकरण गरेको र पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि डेडिकेटेड अस्पतालका रूपमा विकास गर्दै चरक अस्पताल, लाइन्स अस्पताललाई वैकल्पिक अस्पतालका रूपमा अगाडि सारिएको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।
शङ्कास्पद व्यक्तिको कोरोना परीक्षणका लागि प्रदेश सरकारले निर्णय गरिसकेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सङ्घीय सरकारबाट प्राप्त एउटा र यस अगाडि नै रहेको एउटा गरी दुईवटा उपकरणबाट कोरोना भाइरसको परीक्षण पोखरामै भइरहेकाले त्यसलाई पूर्ण रूपमा सञ्चालन गरी धेरैभन्दा धेरै व्यक्तिको स्वाब परीक्षण गर्ने काममा प्रदेश सरकार अगाडि बढेको बताउनुभयो ।