संस्कृत वाङ्मयको संरक्षणका लागि काम गर्ने प्रमुख दलका नेताको प्रतिबद्धता

  असार ०१, २०७९

काठमाडौँ, असार १ : जयतु संस्कृतम् दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले संस्कृत वाङ्मयको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । दिवसका अवसरमा जयतु संस्कृतम् संस्थाले आज जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीव्र सहरीकरण र निजी शिक्षाको प्रक्रिया बढेसँगै संस्कृत कर्मकाण्डको भाषामात्र हो कि भन्ने परेकामा यसलाई चिर्नुपर्ने बताउनुभयो ।

संस्कृत वाङ्मयमा रहेको ज्ञान आम मानिसमा लैजान पनि संस्कृत पठनपाठन प्रक्रियालाई आधुनिक रुपमा प्रयोग गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । संस्कृत सभ्यता र मानव अस्तित्वसँग जोडिएको नेता थापाले बताउनुभयो । संस्कृत भाषामात्र नभई दर्शन, परिचय र जीवनशैलीसँगै जोडिएको विषय भएकाले यसको विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वमन्त्री एवं नेकपा ९एमाले०का नेता प्रदीप ज्ञवालीले जयतु संस्कृतम् आन्दोलनको ऐतिहासिक महत्व रहेको बताउनुभयो । जयतु संस्कृतम् २००७ सालको प्रजातन्त्र स्थापनाको पृष्ठभूमिका रुपमा रहेको उहाँले सुनाउनुभयो । राणाशासनका विरुद्ध शिक्षित व्यक्तिको असन्तुष्टि प्रष्ट देखाएको थियो । विद्यार्थीले सत्ताको विरोध गर्दै आधुनिक विषय पढ्न पाउनुपर्ने माग गरेको नेता ज्ञवालीले बताउनुभयो ।

पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले संस्कृत अध्यापन विधिलाई सुधार गर्न ७६ वर्षअघि जयतु संस्कृतम् अभियान सुरु भएको बताउनुभयो । जयतु संस्कृतम्ले संस्कृतलाई जनतामाझ लैजाने काम गरेको उहाँको भनाइ थियो । संविधान निर्माणपछि पनि जयतु संस्कृतम् अभियानको आवश्यकता बढेको नेता पोखरेलको टिप्पणी छ ।

संस्कृत बिना आयुर्वेद र योगको अध्ययन पूरा नहुने भएकाले संस्कृतको अध्ययन अध्यापन अनिवार्य पनि बनेको उहाँले सुनाउनुभयो । पद्मरत्न तुलाधरको अन्त्येष्टि संस्कृत भाषामै गरिएको थियो । हाल युरोप र अमेरिकामा संस्कृत भाषाको अध्ययन अध्यापन गर्नेको सङ्ख्या बढेको छ । अमेरिकी वैज्ञानिक संस्था नासाले सन् २०३२ देखि कम्प्युटरको भाषा संस्कृत बनाउन लागेको जानकारी पनि कार्यक्रममा संस्थाका अध्यक्ष डा बद्री पोखरेलले दिनुभयो ।

कम्प्युटरको भाषामा पनि संस्कृत प्रयोग हुने खबरले चीनका राष्ट्रपति पनि संस्कृत पढ्न थालेको जयतु संस्कृतम्ले जनाएको छ । कोरोनामा अमेरिकाका राष्ट्रपतिले वेद मन्त्रोच्चारण गराएको समाचार विश्वव्यापीरुपमा फैलिएको थियो । दिवसका अवसरमा आज बिहान दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण गरिएको थियो । माल्यार्पणपछि प्रभातफेरिसहित रानीपोखरीको दरबार हाईस्कुलमा पुगेर सभामा परिणत भएको थियो ।

विसं २००४ मा तीनधारा पाठशालाबाट ३८ जना विद्यार्थी निष्कासन गरिएको थियो । ती विद्यार्थीले देशका विभिन्न भागमा राणाले देश निकाला गरे भन्दै जागरण फैल्याउँदै भारत लागेका थिए । यसले राणाशासन अन्त्यका लागि समेत काम गरेको थियो । जयतु संस्कृतम् नेपालको पहिलो विद्यार्थी आन्दोलन हो ।

तपाईको प्रतिक्रिया