काठमाडौँ, चैत २४ : सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत २८ जना बिरामीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ ।
एपीएफ अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित बिरामीको मात्रै उपचार केन्द्र बनाउने निर्णय पछि सशस्त्र प्रहरी मुख्यालयले भर्ना भएका २८ जनालाई वीरेन्द्र सैनिक अस्पताल स्थानान्तरण गरिएको हो ।
१ सय १० बेड क्षमताको एपीएफ अस्पतालमा सयभन्दा बढी बिरामी भर्ना भएर उपचार गराइरहेका थिए । त्यसमध्ये फलोअप र औषधि सेवन गरेर घरमै आराम गर्न मिल्नेलाई डिस्चार्ज गरिएको र बाँकीलाई अन्यत्र स्थानान्तरण गरिएको हो ।
सशस्त्र प्रहरी प्रवक्ता डीआइजी प्रविणकुमार श्रेष्ठले डिस्चार्ज गर्न मिल्नेलाई घर वा ब्यारेकमा पठाएर बाँकीलाई सेनाको अस्पतालमा स्थानान्तरण गरिएको बताए । बिरामी सारिएसँगै एपीएफ अस्पतालबाट छिट्टै कोरोना संक्रमित तथा आशंका लागेमा मानिसलाई भर्ना गरेर उपचार गरिनेछ ।
सशस्त्रका सबै संयन्त्र बलम्बुबाट स्थानान्तरण कोभिड–१९ रोगको उपचारका लागि डेडिकेटेड अस्पतालमा रुपान्तरण गरिएपछि बलम्बुस्थित अस्पताल परिसर र आसपास रहेका सशस्त्र कार्यालयहरुपनि संयन्त्र अन्यत्र स्थानान्तरण गरिएको कान्तिपुरमा उल्लेख छ ।
बलम्बुमै रहेको सशस्त्र प्रहरी बल ९ नम्बर पशुपतिनाथ बाहिनी कार्यालय सानो गौचरणस्थित सशस्त्र प्रहरीकै स्टाफ कलेजको भवनमा सारिएको छ । स्टाफ कलेज मातातीर्थस्थित सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सारिएको छ । त्यस्तै बलम्बुमै रहेका सशस्त्र प्रहरी बल प्राविधिक तालिम शिक्षालय, कुकुर शाखालगायतका युनिट पनि एकेडेमीमै सारिएको छ ।