काठमाडौं, चैत २४ : नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो ।
अर्थमन्त्रालय स्रोतका अनुसार आजै गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । प्रधानमन्त्रीले रुचि देखाए आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नर नियुक्त गर्नेछ ।
सिफारिसमा परेका खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुन् । सिवाकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् । सिवकोटी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत छन् ।
अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् । अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।