काठमाडौँ, २७ जेठ : हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ । हिमाली क्षेत्रपछि तराईमा पनि उल्लेख्य रुपमा मूल्यवृद्धिको चाप परेको एक विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरण अनुसार हिमाली क्षेत्रमा ८।२१ प्रतिशतले मुद्रास्फिती भएको छ ।
केन्द्रीय बैंकका अनुसार तराई क्षेत्रमा मुद्रास्फिती ८।१५ प्रतिशत बराबर रहेको छ । काठमाडौं उपत्यकामा ७।३९ प्रतिशत, पहाडमा ७।८९ प्रतिशत बराबरको मुद्रास्फीति रहेको छ । विसं २०७८ वैशाखमा काठमाडौँ उपत्यकाको मुद्रास्फिती ३।६२ प्रतिशत, तराईमा ३।५१ प्रतिशत, पहाडमा ४।१४ प्रतिशत र हिमालमा १।३३ प्रतिशत बराबर थियो ।
केन्द्रीय बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७।१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८।४५ प्रतिशत रहेको पाइएको छ । गत वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फिति ५।८४ प्रतिशत छ ।
विसं २०७८ वैशाख महिनाको तुलनामा गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलमा मात्रै २४।८६ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, फलफूलमा १२।६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा ११।३० प्रतिशत , दाल तथा गेडागुडीमा १०।५३ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९।७० प्रतिशतले मूल्यवृद्धि भएको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायातमा २१।८१ प्रतिशत, शिक्षा र मनोरञ्जनमा ११।६४ प्रतिशत तथा संस्कृति उपसमूहमा ८।२१ प्रतिशतको मुद्रास्फीति भएको पाइएको छ । –––