‘विदेशबाट भित्रिएका सीपको तथ्याङ्क लिएर उद्यमशीलता प्रवद्र्धनमा लगाऔँ’

  जेठ २६, २०७९

काठमाडौँ, जेठ २६ : प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि वैदेशिक रोगजारीबाट सीप बोकेर आएकाहरूको तथ्याङ्क लिन जरुरी रहेको बताउनुभएको छ । उनीहरुको सीपलाई उद्यमशीलता प्रवद्र्धनमा लगाउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयका विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “त्यसरी सिकेर आएका श्रमिकहरूलाई पूँजी तालिम, उत्प्रेरणा र बजारसम्बन्धी ज्ञान दिएर उद्यमशीलता प्रवद्र्धनमा लगाउन सकियो भने अर्थतन्त्रलाई बहुआयामिक कोणबाट सुन्दर बनाउन भूमिका खेल्न सक्छ ।”

उहाँले यसका लागि निजी क्षेत्रको परामर्श सेवा तथा तथ्याङ्कसमेत लिन जरुरी रहेको र यसले एउटा संयन्त्रको समेत माग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले भनेको निजी लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्न आग्रह गर्नुभयो ।

खानेपानी सेवा विस्तार तथा पुनःस्थापनामा पालिकागतरूपमा हेर्दा मधेस प्रदेशमा बजेट कम किन परेको हो आफूले जान्न नसकेको उहाँले बताउनुभयो । उहाँले जलवायु अनुकूलन बृहत् खानेपानी भन्ने शीर्षकमा रु तीन अर्ब ४३ करोड बजेट रहेकामा मधेसमा न्यून रहेको गुनासो गर्नुभयो ।

“ढल निर्माण तथा प्रशोधनका लागि जम्मा रु १० लाखमात्रै बजेट छ के गर्न खोजिएको आफूले बुझ्न सकेको छैन”, खानेपानी मन्त्रालयअन्तर्गतको विविध शीर्षकमाथिको छलफलमा उहाँले भन्नुभयो ।

पूर्वशिक्षामन्त्रीसमेत रहनुभएका नेता पोखरेलले शिक्षा मन्त्रालयअन्तर्गतका विषयगत शिर्षकको छलफलमा भाग लिँदै शिक्षामा विकृति बढेको बताउनुभयो । उहाँले सार्वजनिक शिक्षाको सवलीकरण दशकीय कार्यक्रम विसं २०७५ मा आफ्नो पालामा ल्याइएकामा अहिले शिक्षा मन्त्रालयले ‘स’ पनि उच्चारण गरेन किन होला भनी प्रश्न गर्नुभयो ।

स्कुलको प्रविधिमैत्री पूर्वाधार निर्माणमा समेत अहिलेको कार्यक्रममा अन्योलता देखिएको भन्दै उहाँले त्यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो । रेलवे पढाउनका लागि भनेर बजेट छुट्टिएकामा उहाँले सरकारलाई धन्यवाद दिनुभयो । रक्षा मन्त्रालयको विषयमा प्रश्न गर्दै उहाँले अमेरिकी सेनाका अधिकारीहरूको नेपाल भ्रमण र नेपाली सेनाको अमेरिकी भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले सैनिक रणनीतिक कार्यक्रमहरूमा जोडिन खोजिएको हो कि भन्ने प्रश्न उठेको भन्दै उक्त विषयमा स्पष्ट पार्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया