खेलमैदान बन्दै

  जेठ २५, २०७९

बैतडी, जेठ २५ : बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १० लाख लगानीमा एकसय मिटर लम्बाइ र ५० मिटर चौडाइको खेलमैदान निर्माण कार्य सुरु भएको हो ।

चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरेर खेल मैदान निर्माण कार्य सुरु भएको हो । बिग बी एन्ड कम्पनीले खेल मैदान निर्माणको जिम्मा पाएको हो । क्याम्पसको आफ्नै खेल मैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भएको थियो । खेल मैदान निर्माण कार्य सुरु भएपछि अब खेलकुदका गतिविधि अगाडि बढाउन सहज हुने क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो ।

खेल मैदान निर्माण कार्यको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले शिलान्यास गर्नुभएको छ । सो निर्माण कार्यको शिलान्यास गर्दै दशरथचन्द नगरपालिका प्रमुख जोशीले खेल मैदानको थप स्तरोन्नतिका लागि नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया