बालश्रम, बाध्यात्मक श्रम उन्मूलन गर्न नेपाल सरकार प्रतिबद्ध

  जेठ २४, २०७९

काठमाडौँ, जेठ २४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम, मानव बेचबिखन तथा आधुनिक दासत्व पूर्णरूपमा उन्मूलन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी ११० औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई आज ‘भर्चुअल’ रूपमा सम्बोधन गर्दै उहाँले सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम उन्मूलन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभयो । आप्रवासनसम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नेपालले नीति निर्माण अगाडि बढाइरहेको जानकारी दिँदै उहाँले गन्तव्य तथा सम्बद्ध मुलुकले आप्रवासी कामदारको मानवअधिकार तथा समानताको सुनिश्चितता गराउनुपर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा औद्योगिक सुरक्षाको बारेमा नेपालले गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराउनुभएको थियो ।

नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडि बढाएको जनाउँदै उहाँले श्रमिक तथा उनीहरुको परिवारको कामसँगसम्बन्धी जोखिम न्यूनीकरण सम्बन्धमा सामाजिक सुरक्षा योजना महत्वपूर्ण कदम रहेको बताउनुभयो । सीमान्तकृत तथा बेरोजगार नागरिकलाई केन्द्रमा राखी सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र महामारीमा रोजगारी गुमाएकालाई पनि केही मात्रामा सहयोग पु¥याएको उहाँको भनाइ थियो ।
–––

तपाईको प्रतिक्रिया