‘व्यावसायिक खेलको विकास गर्न प्रतियोगिता आवश्यक’

  जेठ २१, २०७९

बनेपा, जेठ २१ : राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नेपालमा व्यावसायिक खेलको विकासका निमित्त प्रतियोगिता आयोजना गर्न आवश्यक रहेको बताउनुभएको छ ।

काभ्रे (आइटिएफ) तेक्वान्दो सङ्घ र काभ्रे (आइटिएफ) तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा आज काभ्रेपलाञ्चोकको बनेपामा भएको सातौँ राष्ट्रिय प्रोफेशनल तेक्वान्दो प्रतियोगिता कार्यक्रममा उहाँले व्यावसायिक खेलकुद प्रतियोगितालाई अगाडि बढाउन सकेको खण्डमा मात्रै नेपाली खेलाडीले खेल क्षेत्रमा नै जीवन देख्ने र आर्थिकरुपले निर्भर हुने परिस्थिति निर्माण हुने बताउनुभयो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ राष्ट्रिय खेलकुद प्रतियोगिताको महत्वपूर्ण अङ्गका रुपमा रहेको जनाउँदै उहाँले त्यसको विकासका निमित्त आगामी दिनमा व्यावसायिक प्रतियोगितालाई थप हौसला प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् सहयोग गर्न तयार रहेको बताउनुभयो ।

आइटिएफले गरेको व्यावसायिक प्रतियोगिता उदाहरणीय बनेको जनाउँदै सबै खेल क्षेत्रमा रहेकाले पनि यसैगरी अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगता आयोजना गर्न आवश्यक तयारी गरिरहेको जानकारी गराउनुभयो ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले राम्रो र नाम राख्ने गरी खेल क्षेत्रको विकासमा आयोजक टिमलाई अगाडि बढ्न आग्रह गर्दै त्यसका लागि नगरपालिकाका तर्फबाट गर्नुपर्ने सबैखाले सहयोगमा आफू तयार रहेको बताउनुभयो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका केन्द्रीय अध्यक्ष अञ्जन धमलाले ‘व्यावसायिक खेल प्रतियोगिता’ भन्ने नाराका साथ राष्ट्रियस्तरमा व्यावसायिक तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आएकामा काभ्रेपलाञ्चोकको बनेपामा सातौँ राष्ट्रिय प्रोफेशनल तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्कीले आइटिएफ सिर्जनशील सङ्घ भएको जनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा जाँदा पनि सिर्जनात्मक खालका कार्य हुने बताउनुभयो । प्रतियोगितामा सातै प्रदेशबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया