काठमाडौं, चैत २२ : नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तीन जना नयाँ संक्रमित भेटिएको घोषणा गरेको हो । जसमध्ये दुई जना भारतबाट आएका हुन् भने एक स्थानीय महिला हुन् । उनी यसअघि संक्रमण देखिएका पुरुषका आफन्त हुन् ।
यसअघि नेपालमा जति संक्रमण देखिएको थियो, सबै विदेशबाट आएका नेपालीहरु थिए । तर कैलालीमा विदेशबाट आएका संक्रमितबाट स्थानीयमा सरेको पाइएको अनलाइन खबरमा उल्लेख छ । यो ‘लोकल स्ट्रान्समिसन’ हो, जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ । तेस्रो ‘कम्युनिटी ट्रान्समिसन’ हो, जसले महामारीको चरणमा पुर्याउन भूमिका खेल्छ ।