कोहलपुर, चैत २२ : कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएकामध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँके जिल्लामा ३१ जनाको स्वाबको नमूना सङ्कलन गरी पठाइएको थियो । बाँकी छ जनाको रिपोर्ट आइतबारसम्म आइपुग्ने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
भारतसँग सीमा जोडिएको जिल्ला भएकाले बाँके कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको मानिएको छ । यद्यपि हालसम्म बाँकेका कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमणको लक्षण नदेखिएको उहाँले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेमा फागुन १२ गते कोरोना सङ्क्रमणको आशङ्कामा पहिलोपटक दुई जनाको नमूना सङ्कलन गरिएको थियो । त्यसयता सात चरणमा ३१ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ भने ४२२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
स्थानीयस्तरमै पिपीइ उत्पादन
नवलपरासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले स्थानीयस्तरमै व्यक्तिगत सुरक्षा उपकरण ९पिपीइ० उत्पादन गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट हालसम्म पनि पिपीइ प्राप्त नभएको अवस्थामा स्वास्थ्यकर्मीलाई अत्यआवश्यक पिपीइ स्थानीयस्तरमै उत्पादन गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस सम्भावित लक्षण देखिएका व्यक्तिलाई नजिकैबाट ज्वरो नाप्ने उपकरणलगायतका अन्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपीइ स्थानीयस्तरमै उत्पादन गरिएको हो । नगरपालिकाको आर्थिक लगानीमा आवश्यक सामग्री खरिद गरी स्थानीयस्तरमै पिपीइ उत्पादन गरिएको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो । उत्पादन गरिएको पिपीइ सबै स्वास्थ्यकर्मी तथा तयार गरिएको क्वारेन्टाइनमा खटिएका कर्मचारीलाई दिइने छ ।
सङ्क्रमित देशबाट आएका २६ क्वारेन्टाइनमा
तुलसीपुर : कोरोना भाइरस सङ्क्रमित देशबाट दाङ आएका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारत तथा सङ्क्रमित देशबाट आएकालाई दाङका स्थानीय तहले खोजी गरी क्वारेन्टाइनमा राखेका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा १०, बबई गाउँपालिकाको क्वारेन्टाइनमा १३ र घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा तीन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताउनुभयो ।
उहाँका अनुसार कोरोनाको लक्षण देखिएको तथा शङ्कास्द बिरामीलाई आइसोलेशनमा लैजाने र सङ्क्रमित देशबाट आएकालाई सम्बन्धित स्थानीय तहमै क्वारेन्टाइनमा राख्ने गरिएको छ । दाङका सबै स्थानीय तहले विदेशबाट आएकाको खोजीकार्यलाई तीव्र पारेको समेत उहाँले बताउनुभयो । क्वारेन्टाइनमा रहेकाको खानपिनको खर्च स्थानीय तहले ब्यहोर्दै आएका छन् ।