लुम्बिनी प्रदेशमा बजेट : प्राथमिकतामा गौरवका आयोजना

  जेठ १६, २०७९

लुम्बिनी, जेठ १६ : सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, जलविद्युत्, सिँचाइ, शिक्षा, सडक–पूर्वाधार र सुरुङमार्गलगायतका आयोजनालाई प्राथमिकता दिइएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रका काममा बुटवल मेडिकल कलेज निर्माणको कार्यलाई अघि बढाउने उल्लेख गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१ र ८ मा पर्ने शङ्करनगर सामुदायिक वन र करहिया सामुदायिक वनको दुई सय बिघा जग्गामा निर्माण हुने मेडिकल कलेजको गुरुयोजनाअनुसार मेडिकल कलेज भवन, चिकित्सकका लागि आवास, होस्टल, स्कुल, कम्युनिटी हल, ग्रिनसरी पार्क, स्वीमिङ पुल, हेलिप्याड, बैंक, चिल्ड्रेन पार्क, सपिङ कम्प्लेक्स, अडिटरी होम हललगायतका संरचना बन्नेछन् ।

गुरुयोजनामा एक हजार शय्याको अस्पताल बन्ने पनि प्रस्तुत बजेटमा समावेश गरिएको छ । तर, सुरुमा ३०० शय्याको अस्पताल बन्ने र क्रमशः पछि ५०० शय्याको अस्पताल निर्माणसँगै अध्यापन सुरु गरिने योजना रहेको छ । त्यहीअनुरुप बुटवल मेडिकल कलेजको कार्यालयको २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएपछि यसको काम सुरु भएको हो ।

बजेटमा सरकारले बाँकेको खजुरामा सञ्चालित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बजेट विनियोजन गरेको उल्लेख छ । यसका साथै बर्दियाको राजापुरमा सुपर स्पेष्लिष्ट सेवासहितको अस्पताल निर्माण र रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रमा सेन्टर निर्माणको काम अघि बढाइने उल्लेख छ ।

अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको आव २०७९/८० को बजेटमा निर्माणधीन बुटवल–नारायणगढ सडक स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख गरिएको छ । देशकै गौरवको आयोजनाका रूपमा रहेको सो खण्डअन्तर्गत विभिन्न स्थानमा साना कल्भर्ट निर्माणको काम भइरहेको छ । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त राजमार्ग स्तरोन्नति योजनाको शिलन्यास गर्नुभएको थियो ।

एशियाली विकास बैंकको ऋण सहयोग विस्तार थालिएको सडकको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । गैँडाकोट–दाउन्ने सडकखण्डको लागत रु ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाखमा ठेक्का लागेको हो । एडिबीको ८५ प्रतिशत ऋण र बाँकी नेपाल सरकारकै लगानीमा हाल दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्न थालिएको हो ।

सडक स्तरोन्नतिको काममा अहिलेसम्म दाउन्ने र गैँडाकोटमा अधिकांश साना कल्भर्ट निर्माण भइसकेको तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको छ । नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनले लिएको छ । ११४ किमी सडक खण्डको काम गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल दुई खण्डमा विभाजन गरेर सुरू गरिएको हो ।

गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ र दाउन्ने–बुटवल ४९ किमी सडकलाई खण्ड २ मा छुट््याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरकोबीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ ।

बजार क्षेत्रमा ६ मिटरको ‘सर्भिस लेन’समेत निर्माण गरिनेछ । बजार क्षेत्रको २८ किमी सडकमा सर्भिस लेन निर्माण हुनेछ । यससँगै आगामी आर्थिक वर्षमा बुटवल–गोरुसिङ्गे सडक खण्डकको स्तरोन्नतिको काम अघि बढाइने बजेट बक्तब्यमा उल्लेख गरिएको छ ।

बुटवलदेखि पश्चिम कपिलबस्तुको गोरुसिङ्गेसम्मको करिब ४५ किलोमिटर सडकको स्तरोन्नतिका लागि परियोजनाको बिस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) काम सम्पन्न भइसकेको छ । यससँगै सरकारले बजेटमा मदन भण्डारी लोकमार्गको निर्माणका लागि लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची र प्यूठानलगायतका जिल्लामा काम अघि बढाउने गरी बजेट विनियोजन गरेको उल्लेख गरिएको छ । यसका साथै पश्चिम नवलपरासी, बर्दिया, कपिलबस्तुलगायतका जिल्ला सदरमुकाम पुग्ने सडकका विस्तार कार्यलाई अघि बढाइने, अमिलिया–तुल्सिपुर सडक विस्तार र घोराही थवाङ सडक स्तरोन्नति गरिने बजेटमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको बजेटमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा सुरुङमार्ग निर्माणको काम अघि बढाइने उल्लेख छ । नेपालको दोस्रो सुरुङमार्ग सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम स्थानका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया