काठमाडौँ, जेठ १५ : सरकारले नागरिकका लागि सहजरुपमा सेवा उपलब्ध गराउन स्थापना गरेका सार्वजनिक संस्थानका कुल सञ्चालन आय रु चार खर्ब ३५ अर्ब १७ करोड ३९ लाख पुगेको छ । गत आर्थिक वर्षको कुल सञ्चालन आय रु चार खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रहेकामा यस्तो आय आव २०७७÷७८ मा एक दशमलव ५१ प्रतिशतले बढेको शनिवार सार्वजनिक गरिएको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा उल्लेख छ ।
अघिल्लो आवको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ४५ दशमलव ४२ प्रतिशतले कमी आई आव २०७७÷७८ मा रु २६ अर्ब ३५ करोड ८८ लाख पुगेको छ । त्यस्तै सरकारलाई आव २०७७÷७८ मा रु छ अर्ब ७२ करोड १४ लाख लाभांश प्राप्त भएको छ । जुन अघिल्लो आवका तुलनामा ५२ दशमलव ३३ प्रतिशतले घटि हो ।
सार्वजनिक समीक्षामा आव २०७७÷७८ मा संस्थानको सञ्चित नाफा गत आवको तुलनामा तीन दशमलव ३५ प्रतिशतले बढेर रु एक खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको उल्लेख छ । त्यस्तै सञ्चित नोक्सानी अघिल्लो आवका तुलनामा ३६ दशमलव ३६ प्रतिशतले कमी आई रु २१ अर्ब ७८ करोड ६६ लाख कायम रहको देखिन्छ । जसअनुसार सबै संस्थानको सञ्चित नाफा अघिल्लो आवकोभन्दा २१ दशमलव ५४ प्रतिशतले बढेर रु ९१ अर्ब ७७ करोड ९३ लाख पुगेको देखिन्छ ।
सरकारको पूर्ण वा अधिकांश स्वामित्व रहेका संस्थानमध्ये २२ संस्थान नाफामा सञ्चालित रहेको र अन्य १९ संस्थानले घाटा व्यहोरिरहेका छन् । नाफामा रहेका संस्थानका खुद नाफा समेत ४० दशमलव ३० प्रतिशतले र नोक्सानीमा चलिरहेका संस्थानका खुुद नोक्सानी तीन दशमलव ६१ प्रतिशतले बढेको सार्वजनिक विवरणमा उल्लेख छ । जसमा सार्वजनिक संस्थानको प्रशासनिक खर्च दुई दशमलव ३८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सरकारको यस्ता संस्थामा कुल लगानी रु पाँच खर्ब ६७ अर्ब २८ करोड ८६ लाख पुगेको छ ।