खुला दौड प्रतियोगिताको उपाधि पाण्डे र चौधरीलाई

  जेठ १४, २०७९

रुपन्देही, जेठ १४ : गणतन्त्र दिवसका अवसरमा बुटवलमा सम्पन्न खुला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगङ्गा बहुमुखी क्याम्पसका अजय पाण्डेले हात पार्नुभएको छ । पाण्डेले १६ मिनेट ३० सेकेण्डमा पाँच किलोमिटरको दूरी पार गर्नुभयो ।

शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा आज भएको पाँच किलोमिटर खुला दौड प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालयका प्रशान्त थापा दोस्रो र कालिका मानविज्ञानका राजन बलाल थापा तेस्रो हुनुभयो । प्रशान्तले सो दूरी १७ मिनेट ४२ सेकेण्डमा र राजनले १८ मिनेट १२ सेकेण्डमा दूरी पार गर्नुभयो ।

त्यसैगरी महिलातर्फ घोराहीकी अनिषा चौधरी प्रथम हुनुभयो । उहाँले २२ मिनेट २७ सेकेण्डमा दूरी पार गर्नुभयो । प्रतियोगितामा कालिकाकी अञ्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र कालिकाकै सञ्जना अधिकारी ३० मिनेटमा दूरी पार गर्दै तेस्रो हुनुभयो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः रु १० हजार, रु आठ हजार र रु पाँच हजारसहित प्रमाणपत्रबाट आइतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुभएको प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मीलगायत एक सय बढी खेलाडी सहभागी थिए ।

तपाईको प्रतिक्रिया