स्वास्थ्य सेवामा अब्बल बन्दै खजुरा

  जेठ १३, २०७९

राँझा, जेठ १३ : बाँकेको खजुरा गाउँपालिका जनप्रतिनिधि आएको पाँच वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको छ । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी प्रदेशका बर्दिया, दाङलगायत सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ठूलो सङ्ख्यामा बिरामी आउनेक्रम बढेको छ ।

खजुरा गाउँपालिकाले वडा नं ३ मा १५ श्ययाको अर्को अस्पताल निर्माण गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै त्यसलाई अस्पतालका रुपमा निर्माण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले सङ्घीय सरकारको रु १८ करोड छ लाख लागतमा उक्त अस्पतालको भौतिक निर्माणको काम सञ्चालन गरेको छ । गाउँपालिकाले सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन हरसम्भव योजना बनाएर काम गर्दै आएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा खजुरा गाउँपालिकाले स्वास्थ्य सेवाका लागि रु ८१ लाख दुई हजार बजेट र नागरिक आरोग्य केन्द्रका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । त्यसअनुसार पालिकामा काम भइरहेको छ ।

हाल गाउँपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र रहेका छन् । प्रत्येक वडामा एक स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य पूरा गरेको गाउँपालिकाले वडास्तरबाटै जनताको स्वास्थ्यमा पहुँच बढाएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुदीप पौडेलले बताउनुभयो ।

उहाँका अनुसार हाल गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच स्वास्थ्यचौकी र दुई आधारभूत स्वास्थ्य केन्द्र गरी आठ स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थालाई गाउँपालिकाको स्वास्थ्य शाखाले नियमित अनुगमन गर्ने गरेको छ ।

“वडामा रहेका स्वास्थ्यचौकीमा आउने समस्यालाई वडाबाटै समस्याको समाधान गर्न उहाँहरुलाई सिकाउने गर्दछौँ, त्यसपछिका समस्यालाई स्वास्थ्य शाखा र पालिकासम्म समन्वय गरेर समस्याको समाधान गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “जहाँ जनशक्तिको अभाव हुन्छ, त्यहाँ नजिकैको स्वास्थ्य संस्थासँग समन्वय गरेर काम गर्छौं ।”

गाउँपालिकाले निरन्तरता दिएको सबैभन्दा महत्वपूर्ण योजना स्वास्थ्य शिविर हो । प्रत्येक वर्ष पालिकाले प्रत्येक वडामा विभिन्न किसिमका स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा विशेषज्ञ चिकित्सकसहितको टोलीसहित वडामा पुगेर पालिकाका सबै नागरिकको स्वास्थ्य जाँच गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया