रासस आलेख : बढ्दो मत बदरमा जिम्मेवार को ?

  जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : पर्साको वीरगञ्ज महानगरपालिकामा सोमबार बिहानसम्मको मतगणनामा प्रमुख पदमा १८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्राप्त विवरणमा उपप्रमुख पदमा झण्डै ४० प्रतिशत मत बदर भएको छ । उपप्रमुखमा विजयी हुने उम्मेदवारले प्राप्त गर्ने मतभन्दा निकै बढी मत बदर हुने स्पष्ट देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वीरगन्ज महानगरमा ९३ हजार ४७३ खसेकामा प्रमुख पदमा ६३ हजार १४७ मत सदर हुँदा बदर हुने मत सङ्ख्या १७ हजार ७६९ छ । उपप्रमुखमा ४३ हजार हजार ३५३ मत सदर हुँदा ३७ हजार ३७१ मत बदर भएको छ । उपप्रमुखमा सदर मतभन्दा बदर मत जम्मा छ हजार हाराहारी मात्रै फरक छ ।

महानगरमा सत्ता साझेदार दलको एउटा गठबन्धन र नेकपा (एमाले) नेतृत्वको अर्काे गठबन्धन चुनावी मैदानमा थियो । गठबन्धन गरेकाले प्रमुखमा नेपाली काँग्रेसको उम्मेदवारी परेन भने उपप्रमुखमा एमालेको उम्मेदवारी छैन । मतगणनामा खटिएका अधिकारीहरु गठबन्धन भएकै कारणले धेरै मत बदर भएको दाबी गर्छन् ।

वीरगन्जको प्रमुखमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंह ४६ हजार २१५ र उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका इम्तियाज आलमले कुल २५ हजार १५८ मत प्राप्त गर्नुभयो । दुवै दलको चुनाव चिन्ह रुख र सूर्य मतपत्रमा यथावत रहँदा उम्मेदवार नभएको चिन्हमा धेरै मत गएको पाइएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्ले महानगरका वडा तहमा बदर सङ्ख्या कम भए पनि महानगरमा भने उम्मेदवार नभएका चिह्नमा बढी मत गएकाले धेरै बदर देखिएको बताउनुहुन्छ ।

यो क्रम विराटनगरमा पनि देखिएको छ । प्राप्त विवरणअनुसार विराटनगरमा प्रमुखमा २४ र उपप्रमुखमा ३८ प्रतिशत मत बदर भएको छ । त्यहाँ पनि उम्मेदवार नै नभएको चिह्नमा अधिकांश मत परेको छ । चितवनको भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेल यसपालि ठूलो मात्रामा मत बदर भएको पाइएको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया