कर्णाली, जेठ ९ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतस्थित प्रदेश अस्पताललाई प्रदेश सरकारले ‘प्रदेश गौरव’ का रुपमा विकास गर्न लागेको बताउनुभएको छ ।
अस्पतालभित्र स्थापना गरिएको रक्तसञ्चार केन्द्रको आज उद्घाटन गर्दै उहाँले आगामी आवमा ५०० शै्ययाका लागि आवश्यक बजेटको सुनिश्चितता गर्ने बताउनुभयो । मुख्यमन्त्री शाहीले सेवा प्रवाहमा मुलुककै उत्कृष्ट बनेर अस्पतालले प्रदेश सरकारको इज्जत राखेकामा अस्पताल व्यवस्थापनको प्रसंशा गर्नुभयो । “प्रदेश अस्पताल नमूना बनाउने हाम्रो संकल्प छ, पूर्वाधार विकास, उपकरण र जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “आगामी वर्ष पनि प्राथमिकताका साथ बजेट विनियोजन गर्छौं, प्रदेश गौरवका आयोजनाका रुपमा यसलाई अघि बढाइनेछ ।” रक्तसञ्चार केन्द्र सञ्चालनले सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले रक्तसञ्चार केन्द्र स्थापनाले रगत नपाएर कुनै पनि बिरामीले ज्यान गुमाउनुपर्ने विगतको अवस्था अब नदोहोरिने बताउनुभयो । मन्त्रालयले अस्पतालको स्तरोन्नतिमा कुनै कसर बाँकी नराख्ने उहाँको भनाई थियो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले बिरामीका आफन्तलाई रगतको खोजीमा भौतारिनुपर्ने, दौडिनुपर्ने बाध्यता अन्त्य भएको धारणा राख्नुभयो । अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले रक्तसञ्चार केन्द्र स्थापनाले अस्पताल विकासमा एउटा खुट्किलो थपिएको बताउनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ र प्रदेश अस्पतालको संयुक्त लगानीमा रक्तसञ्चार केन्द्र स्थापना भएको हो । यसअघि अस्पतालको आफ्नै रक्तसञ्चार केन्द्र थिएन । अस्पतालको प्रयोगशाला एकाइमा केन्द्र स्थापना गरिएको छ ।