जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न नव निर्वाचित जनप्रतिनिधिलाई मुख्यमन्त्रीको आग्रह

  जेठ ०९, २०७९

रुपन्देही, जेठ ९ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न नव निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।

बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा आज उहाँले स्थानीय तह जनताको नजिक हुने भएकाले सेवालाई पनि प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । “लोकतन्त्र दुनियाँको उत्कृष्ट शासन व्यवस्था हो । नजिकबाट जनताले सेवा पाउँछन् भन्ने कुराको सुनिश्चित गर्ने कुरा पालिकाले गर्छ”, उहाँले भन्नुभयो “तपाईंहरुले आज ऐतिहासिक जिम्मेवारी पूरा गर्नुभएको छ, चुनौती धेरै छन् यो सामना गर्न तपाईंहरु सक्षम हुनुहुन्छ ।”

यो मुकामलाई बाँझो पार्ने काम कसैबाट नहुने जनाउँदै उहाँले यसलाई हराभरा बनाउने बताउनुभयो । “एकै चरणमा निर्वाचन सम्पन्न भएको छ, एक दुई ठाउँमा अघिपछि भए पनि सबै पालिकामा शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो, अर्को निर्वाचन पनि समयमै हुन्छ”, उहाँले भन्नुभयो ।

नेकपा माओवादीका नेता बामदेव क्षेत्रीले जनताको साथ लिन जनप्रतिनिधिले सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सबैसँग सहकार्य गरेर पुराना योजनालाई निरन्तरता दिने र नयाँ कामको थालनी गरेर यो उपमहानगरलाई नमूना बनाउनुपर्ने धारणा राख्नुभयो । “शिक्षा, स्वास्थ्यमा हामी पछाडि छौँ, सबै मिलेर यो क्षेत्रको विकास गर्नु छ”, उहाँँले भन्नुभयो ।

राजनीतिक दलप्रति नागरिकको वितृष्णाले गर्दा स्वतन्त्र उम्मेदवारको मत बढी आएको जनाउँदै उहाँँले सबै क्षेत्रको विकास र अव्यवस्थित बजारलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

पूर्वमन्त्री तथा एमालेका नेता लीला गिरीले बुटवलको सुकुम्बासी समस्या समाधान र तिनाउ दानव करिडोर निर्माणको कामलाई पूरा गर्नुपर्ने अभिभारा बाँकी रहेकाले बुटवलले निगरानी गर्ने र पूरा गर्न दबाब दिनुपर्ने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने बताउनुभयो । उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्यका हिसाबले उत्कृष्ट उपमहानगरका रूपमा विकास गर्न सबैसँग सहकार्य र समन्वय गर्ने बताउनुभयो ।

नव निर्वाचित उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

बुटवल उपमहानगरपालिकाका निवर्तमान प्रमुख शिवराज सुवेदीले बुटवलका साझा समस्या हल गर्न एकीकृत सहरी विकास योजना र दीर्घकालीन र अल्पकालीन योजना बनाएर अघि बढेको जनाउँदै ती योजनालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बुटवल उपमहानगरपालिका सबैका लागि खुल्ला रहनुपर्ने बताउँदै उपमहानगरको सेवाबाट जनता निराश भए मिडियाले खबरदारी गर्ने उल्लेख गर्नुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुले कोभिड महामारीका कारण उद्योगी व्यवसायी धरासायी भएको अवस्थामा उपमहानगरले आगामी बजेटमा राहतका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले आज शपथ ग्रहणसँगै पदभार ग्रहण गर्नुभएको हो । प्रमुख पाण्डेयले मुख्य निर्वाचन अधिकृत धनसिंह महराबाट शपथ लिनुभएको हो । प्रमुख पदमा नव निर्वाचित पाण्डेयले उपप्रमुखमा निर्वाचित सावित्रादेवी अर्याल, १९ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई शपथ गराउनुभएको हो ।

तपाईको प्रतिक्रिया