काठमाडौँ, जेठ ९ : काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका उम्मेदवार राम्जी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय हुनुभएको हो ।
अध्यक्ष पदमा विजय हुनुभएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्थी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा एमालेको तर्फबाट टेकराज अधिकारी र श्रीराम राई निर्वाचित हुनुभएको छ । महिला सदस्यमा कांग्रेसको तर्फबाट सृजना भेटवाल र दलित महिला सदस्यमा एमालेको रचना सोनाम विजय हुनुभएको छ ।
वडा १० मा कांग्रेसको केसी निर्वाचित
त्यस्तै वडा नम्बर १० को अध्यक्ष पदमा कांग्रेसका रामकृष्ण केसी विजय हुनुभएको छ । केसीले एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै जित हात पार्नुभएको हो । अध्यक्ष केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्थी कार्कीले २९५३ मत प्राप्त गर्नुभएको छ । सदस्यमा कांग्रेसका नरोज अर्याल र सतीस तन्डुकार निर्वाचित हुनुभएको छ । महिला सदस्यमा भने कांग्रेसकै रोहनी श्रेष्ठ विजय हुनुभएको छ । दलित महिला सदस्यमा कांग्रेसबाट सुनिता भित्रिकोटी परियार निर्वाचित हुनुभएको छ ।
यसैबीच कामपाको प्रमुखको स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४६ हजार ५३४ मत प्राप्त गरी अग्रस्थानमा हुनुन्छ भने नेपाली कांग्रसका उम्मेदवार सिर्जना हिंहले २७ हजार ८५८ मत पाउनुभएको छ । एमालेका केशव स्थापितले २६ हजार ७७३ मत ल्याउनुभएको छ । उपप्रमुखमा एमालेको उम्मेदवार सुनिता डङ्गालले ४८ हजार ५१७ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६ हजार ६६० मत पाउनुभएको छ ।
बाइसवटा वडाको मतपरिणाम सार्वजनिक
महानगरपालिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १८, २०, २१ र २२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १० , ११, १२, २३, २४, २५, २६ २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।
त्यसैगरी हालसम्मा एक लाख ३४ हजार ३५६ मतगणना सम्पन्न भएको छ भने जसमा चार हजार ९६४ मत बदर भएको आयोगले जानकारी दिएको छ । कामपामा तीन लाख २२४ मतदाता रहेकामा करिब एक लाख ९२ हजार मत खसेको थियो ।