धनगढी, जेठ ७ : कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९९७ मतको अग्रता लिएका छन् ।
६३ हजार ७१५ मत खसेको धनगढीमा ५१ हजार ६५ मत गन्दा हमालले २२ हजार ५४१ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मतसहित हमाललाई पछ्याइरहेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मत ल्याएर तेस्रो स्थानमा छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई एमालेकी कन्दकला रानाले उछिनेकी छिन् । रानाले १० हजार ८८० र अधिकारीले १० हजार ७०२ मत पाएकी छिन् ।