महोत्तरी, जेठ ५ : महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा विजयी हुनुभएको छ । प्रमुखमा चार हजार तीन मत प्राप्त गरी हरिप्रसाद मण्डल र उपप्रमुखमा तीन हजार ८६४ मत प्राप्त गरी मञ्जुदेवी निर्वाचित हुनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुख पदका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका मोहम्मद मुजिबुल रहमानले तीन हजार ८६४ र उपप्रमुखमा सोही दलकी जिवछीदेवी यादवले दुई हजार ७५१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले जानकारी दिनुभयो । मतगणना परिणाम घोषणा भएको मटिहानी जिल्लाको छैठौँ स्थानीय तह हो ।
यसअघि रामगोपालपुर र मनराशिश्वा नगरपालिका एवं महोत्तरी, पिपरा र एकडारा गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ । जिल्लामा जम्मा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । अझै नौ स्थानीय तहको परिणाम घोषणा हुन बाँकी छ । सबै स्थानीय तहको परिणाम आज अबेर रातिसम्म घोषणा भइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।