जनकपुर, जेठ ४ : स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले)ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ ।
एउटा पालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले थप तीन स्थानीय तहमा अग्रता कायम गरेको छ भने धनुषाको कुनै पनि पालिकाको प्रमुख–उपप्रमुख जित्न नसकेको नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक स्थानीय तहमा अग्रता बनाएका छन् ।
जारी मतगणना परिणामअनुसार धनुषाको धनुषाधाम, मिथिला, नगराइन नगरपालिका, हंशपुर र बटेश्वर गाउँपालिकामा कांग्रेसले अग्रता बनाएको कांग्रेसले धनौजी र लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितिसकेको छ । यस्तै धनुषाको औरही गाउँपालिका र विदेह नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको एमालेले क्षीरेश्वरनाथ, मिथिला विहारी नगरपालिकामा अग्रता लिएको छ ।
कांग्रेसको बिरासत भत्काउँदै जनकनन्दनी गाउँपालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले सहिदनगर, कमला नगरपालिका र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा अग्रता कायम गरेको छ । धनुषाधाम नगरपालिका प्रमुखमा कांग्रेसका बालेश्वर मण्डलले एक हजार ७२३ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने एमालेका योगकुमार यादवले एक हजार ४८० मतका साथ पछ्याइरहनुभएको निर्वाचन अधिकृत चिरञ्जीवी गौतमले जानकारी दिनुभयो ।
मिथिला नगरपालिकामा चार हजार ४५० मतका साथ कांग्रेसका महेन्द्र महतोले अग्रता कायम गर्नुभएको छ भने एमालेका राजाराम महतोले तीन हजार ५९५ मतका उहाँलाई पछ्याइरहनुभएको छ । कांग्रेस नेता विमलेन्द्र निधिको गृहनगर धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका विनयकुमार यादवले दुई हजार १८८ मतका साथ अग्रता कायम गर्नुभएको छ भने एमालेका रामबाबु पंजियारले एक हजार ४७६ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।
त्यस्तै धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेसका रामअशिष महतो दुई हजार ४५८ मतका साथ अग्रता लिनुभएको छ भने एमालेका श्यामसुन्दर महतोले एक हजार ३८८ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ । हंशपुर गाउँपालिकामा कांग्रेसका प्रदीपकुमार यादवले एक हजार १३१ मतका साथ अग्रता लिनुभएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीका रामज्ञान मण्डलले ५५४ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ ।