नुवाकोट, जेठ ३ : नुवाकोटको पाँच स्थानीय तहमध्ये चारमा नेपाली कांग्रेस र एउटामा नेकपा एमाले विजयी भएका छन् । नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङले तीन हजार २०९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सुकबहादुर तामाङले दुई हजार ५९२ मत ल्याउनुभएको छ । आशा तामाङ अध्यक्षमा पुनः दोहोरिनुभएको छ । यसैगरी उपाध्यक्षमा कांग्रेसका सीता तामाङले तीन हजार ७३१ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गङ्गामाया तामाङ दुई हजार ४२ मत ल्याउनुभएको छ ।
त्यस्तै सोही गाउँपालिकको वडा नं १ मा कांग्रेसका जीमाबहादुर तामाङ, वडा नं २ मा नेकपा एमालेका सन्तवीर तामाङ, वडा नं ३ मा कांग्रेसका हरिबहादुर तामाङ, वडा नं ४ मा स्वतन्त्र उम्मेदवार कमलबहादुर तामाङ र वडा नं ५ मा नेपाली कांग्रेसका जीतबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै, सूर्यगढी गाउँपालिकामा कांग्रेसका सन्तबहादुर तामाङ तीन हजार ७५९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र रिजालले दुई हजार ८८९ मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसका मन्जु बुढाथोकीले तीन हजार २०३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका गङ्गा आचार्यले दुई हजार ९३२ मत ल्याउनुभएको छ । अध्यक्ष र उपाध्यक्षमा निर्वाचित तामाङ र बुढाथोकी दुवैले दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।
सूर्यगढीको वडा नं १ मा माओवादी केन्द्रका राजकुमार तामाङ, वडा नं २ मा कांग्रेसका दीपक अधिकारी, वडा नं ३ मा एमालेका पिङ्गलबहादुर थापामगर, वडा नं ४ मा नेपाली कांग्रेसका रामशरण राई र वडा नं ५ मा नेपाली कांग्रेसकै अच्युतराज ढकाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
यस्तै, तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ निर्वाचित हुनुभएको छ । तामाङले जिल्ला समन्वय समितिको प्रमुखबाट राजीनामा दिएर पालिकाको अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । तामाङले तीन हजार २४१ मत ल्याएर निर्वाचित भएका हुन् । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका किरणकुमार रिजालले दुई हजार ५१८ मत ल्याएका छन् ।